जनता टाइम्स

४ बैशाख २०७८, शनिबार १७:०४

माओवादीसँग बिकेका कर्णालीका तीन सांसद एमालेबाट निश्कासित, ज्वालालाई निश्कासन गर्न केन्द्रलाई पत्र


सुर्खेत, बैशाख ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई पार्टीबाट निश्कासित गरेको छ । प्रदेश कमिटीको आज बसेको वैठकले माओवादी सरकार जोगाउन लाग्ने पार्टीका सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।

अध्यक्ष गोरख वोगटीका अनुसार बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निश्कासन गरिएको हो । अर्का सांसद प्रकाश ज्वालालाई पनि निश्कासन गर्न एमाले केन्द्रलाई पत्र पठाउने निर्णय वैठकले गरेको छ । प्रदेश कमिटी अध्यक्ष बोगटीले जारी गरेको विज्ञप्तिमा संसदीय दलले गरेको निर्णयलाई समेत आधार बनाइ उनीहरुमाथि कारवाही गरिएको उल्लेख छ ।

‘निजहरुलाई २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिबेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । शुक्रवार प्रदेशसभामा भएको मतदानमा ज्वालासहित चार सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरी सरकार जोगाइ दिएका थिए । चारै जना सांसदमाथि एमालेले कार्वाही गरेको हो । पार्टीले कार्वाही गरेसँगै चारै जनाको सांसद पद जाने भएको छ ।