जनता टाइम्स

४ बैशाख २०७८, शनिबार १७:३३

बैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस


काठमाडौं, बैशाख ४

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना महामारीलाई ध्यानमा दिदै सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

सर्वदलिय बैठकपछि शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्‌समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेका सहरहरुको बारेमा समीक्षा गरिएपछि सिफारिस भएको हो ।

सीसीएमसीले सिफारिस गरेपछि अब बस्ने मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने–नगर्ने निर्णय गर्नेछ । स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्नुपर्ने सुझाएको हो । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।