चितवन, बैशाख ५
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टले धर्म–संस्कृति मान्दैनन् भन्ने कुरा बिल्कुलै झुटो रहेको बताउनु भएको छ । माडीको अयोध्यापुरीमा बन्दै गरेको मन्दिरलगायत संरचना निरीक्षण गर्दै अध्यक्ष दाहालले कम्युनिस्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने बताउनु भयो ।
उहाले भन्नुभयो, ‘कम्युनिस्ट धर्म–संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।’ जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवर्धन, त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिस्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने उहाले जिकिर गर्नुभयो । उहाले अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने पनि बताउनु भयो । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपछि उहाले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताउनु भएको हो ।
आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुसी भएको जनाउँदै दाहालले भन्नुभयो, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।’ यसले धार्मिक प्रवर्द्धन मात्रै होइन, धार्मिक पर्यटन प्रवर्द्धन गर्नाका साथै जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उहाले बताउनु भयो ।
यसबारे आफूले पार्टीमा पनि छलफल गरेको जनाउँदै दाहालले यसलाई प्रामाणिकता दिन पुरातत्त्वविज्ञ ल्याएर आवश्यक अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । उहाले थप्नुभयो, ‘अनुसन्धानबाट प्रमाणित भयो भने निकै ठूलो उपलब्धि हासिल हुनेछ ।’ यसले जिल्लाका बासिन्दालाई मात्रै नभएर सिंगो राष्ट्रका लागि गौरवको विषय हुने उनको भनाइ थियो ।
यस्ता विषय निकै संवेदनशील हुने भएकाले जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने उहाको सुझाव थियो । सरकारले यसलाई गम्भीर र जिम्मेवारीपूर्ण ढंगले लिनुपर्ने दाहालले बताउनु भयो ।
माडी चितवनको क्षेत्र नम्बर ३ मा पर्दछ । सोही क्षेत्रबाट दाहाल निर्वाचित भएका हुन् । माडीको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमान्को मूर्ति यही वैशाख ९ गते राखिने भएको छ । मूर्ति राख्न निर्माण कार्य धमाधम भइरहेको छ । माडीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा दाहालले सो क्षेत्रको निरीक्षण गरेका हुन् ।













प्रतिक्रिया दिनुहोस्