जनता टाइम्स

६ बैशाख २०७८, सोमबार १४:०७

२२ तल्ले धरहरामा सुनको जलप गरिएको गजुर स्थापना


काठमाडौं, बैशाख ६

सुन्धारामा बनेको २२ तल्ले धरहरामा गजुर स्थापना गरिएको छ । पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको धरहरामा पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर टुप्पोमा राखिएको हो ।

२०७२ वैशाखको भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते उद्घाटन गर्दै हुनुहुन्छ । ३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा साढे तीन सय मजदुरले काम गर्दै आएका छन् । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो ।

उद्घाटनका क्रममा प्रधानमन्त्री ओली लिफ्टमार्फत धरहराको टुप्पोमा पुगेर धरहराबाट अवलोकन गर्नुहुनेछ । साथै त्यहीँ उहाँलाई धरहरा निर्माणबारे जानकारी गराइने छ । बैशाख ११ गते उद्घाटन गरिए पनि सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ ।