जनता टाइम्स

६ बैशाख २०७८, सोमबार १९:४५

कर्णालीका सभामुख शाहीले संघीय सभामुख सापकोटालाई यसरी पढाए संवैधानिक मर्यादाको पाठ


काठमाडौं, बैशाख ६

‘कुर्सीको मर्यादा नै नबुझेको व्यक्ति सभामुख हुन्छन् भनेर संविधानले कल्पना गरेको हुँदैन’, संविधानविद् डा. विपिन अधिकारीको भनाई हो यो । प्रसंग चाही ५ बैशाखको हो ।

यो दिन संघीय सरकारका एक र कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको थियो । एकैदिन भएका यी दुई कार्यक्रममा आधारभूत रूपमा एउटा निक्कै ठुलो संवैधानिक भिन्नता थियो । यो कार्यक्रममा प्रदेशका सभामुखले केन्द्रका सभामुखलाई नैतिकताको पाठ सिकाएको दिन हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने आइतबारको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित हुनु भएन । आफुलाई मन नपर्ने निर्णय भयो भने वा हुन लाग्यो भने सभामुख सापकोटा प्रचण्डको निर्देशनबाट त्यस्ता कार्यक्रम बहिष्कार गर्दै आउनु भएको छ । यो श्रृखंला संवैधानिक परिषद्को बैठकदेखी निरन्तर चलिरहेको छ ।

सभामुख बन्नुअघि नेकपा (माओवादी केन्द्र)को सांसद रहनु भएका सापकोटाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चर्किएपछि सरकारले आयोजना गर्ने महत्त्वपूर्ण कार्यक्रमलाई समेत बेवास्ता गरिरहनु भएको छ । सोही क्रममा गृहमन्त्री थापाको शपथ ग्रहण पनि सापकोटाले बहिष्कार गर्नुभयो ।

आइतबार नै कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले एमालेका माधव नेपाल समूहका नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको शपथ गराउनु भयो । शपथ समारोहमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सभाका सभामुख राजबहादुर शाही लगायत उपस्थित हुनुहुन्थ्यो । पार्टीको ह्विप उल्लंघन गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका चारमध्ये तीन जना मन्त्री बनेका हुन् ।

त्यसरी ह्विप उल्लंघन गर्नेहरू सभामुख शाहीकै पूर्वपार्टी नेकपा (एमाले)का सांसदहरू हुन् । तर, आफ्नो पूर्वपार्टीलाई ‘घात’ गर्नेहरूको शपथ ग्रहण कार्यक्रमलाई सभामुख शाहीले बहिष्कार गर्नुभएन बरु संवैधानिक पदको मर्यदा राख्दै उपस्थित हुनु भयो ।

कर्णाली प्रदेश सभाका सभामुख शाही आफूले शपथ ग्रहण समारोहमा गएर संवैधानिक भूमिका निर्वाह गरेको बताउनु हुन्छ । ‘कुन व्यक्ति मन्त्री बन्यो भन्ने हेरेर शपथ ग्रहणमा जाने वा नजाने निर्क्योल गर्ने छुट यो कुर्सीमा बस्नेलाई छैन’, सभामुख शाहीले भन्नुभयो, ‘सभामुखले नै पक्षधरता देखाएपछि त संवैधानिक मर्यादा समाप्त हुन्छ ।’

संविधानविद् डा अधिकारी पनि शाहीको कुरामा लगभग सहमत हुनुहुन्छ । ‘कुर्सीको मर्यादा नै नबुझेको व्यक्ति सभामुख हुन्छन् भनेर संविधानले कल्पना गरेको हुँदैन’, उहाले यो घटनाबारे टिप्पणी गर्नुभयो ।