जनता टाइम्स

७ बैशाख २०७८, मंगलवार २०:५९

कारवाही हुने भयले माधव नेपालको दौडधुप, तत्काल अविश्वासको प्रस्ताव ल्याउन देउवासँग आग्रह


काठमाडौं, बैशाख ७

नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपाल सांसद पद पनि जाने भयले दौडधुपमा लाग्न थाल्नु भएको छ । एमालेका सांसदलाई प्रदेशसभामा फ्लोर क्रस गर्न निर्देशन दिने र केन्द्रमा पनि गर्न लगाउने तयारी गरिरहनु भएका नेता नेपाल आफ्नै पद जाने भएपछि दौडधुपमा लाग्नु भएको हो ।

सांसद सदस्यबाट समेत कारवाही गर्ने प्रक्रिया अघि बढाएकै दिन पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गर्नुभएको छ । छलफलमा उहाहरुले छिटो भन्दा छिटो संसद बोलाउनु पर्ने र अविश्वासको प्रस्ताव दर्ता गरिहाल्नुपर्ने अवस्था आएको जानकारी गराएका छन् । आफुहरुको पद जानु अगावै संसदमा अविश्वासको प्रस्तावमाथी मतदान गर्ने वातावरण बनाउन भनेको स्रोतको दावी छ ।

मंगलबार नयाँ बानेश्वरको अर्याल होटलमा आफू पक्षीय सांसदहरुसँगको बैठकपछि देउवा निवास बुढानिलकण्ठ पुगेका एमाले नेताद्वय खनाल र नेपाल देउवासँगको छलफलपछि टोखास्थित नेता भीम रावलको निवासमा पुग्नु भएको छ । त्यहा केही गोप्य भेटवार्ता हुने र आगामी रणनीति तया गरिने स्रोतले जानकारी दिएको छ । त्यसपछि आजै राति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग भेटगरी अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल हुने बताइएको छ ।