जनता टाइम्स

८ बैशाख २०७८, बुधबार १०:१८

सहमति नजिक पुग्यो प्रधानमन्त्री-महन्थ बार्ता


काठमाडौं, बैशाख ८ । संसद्‌मा निर्णायक खेलाडीका रुपमा रहेको जनता समाजवादी पार्टीभित्र आन्तरिक कहल चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग साझेदारी गर्ने कि विपक्षीसँग मिलेर नयाँ सरकार बनाउने भन्ने विषयमा जसपाभित्र विवाद चर्किएको हो।

आन्तरिक विवादबीच नै जसपाका अध्यक्ष महन्थ ठाकु र राजेन्द्र महतोसँग बालुवाटारको सम्वाद निकै बाक्लिँदै गएको छ। मंगलबार पनि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर लामो कुरा गर्नुभएको छ । भेटमा ओलीले जसपाले राखेका मागहरू सम्बोधन गर्न आफू सकारात्मक रहेको बताउँदै छिटो संस्थागत निर्णय लिन आग्रह गर्नुभएको छ । ठाकूरले सरकारलाई समर्थन गरे पनि तत्काल सहभागी नहुने बताउनु भएको स्रोतको भनाई छ । स्रोतका अनुसार २४ प्रकृतिका दुई सय बढी मुद्दा फिर्ता लिने, राजबन्दी रिहा गर्ने, संविधान संसोधनका लागि स्वतन्त्र आयोग बनाउने,लाल आयोगलाई संक्षेपीकरण गरी सार्वजनिक गर्ने, जसपाको चासो समेटेर नागरिकता विधेयक तत्काल अघि बढाउनुपर्ने विषयमा लगभग समझदारी बनिसकेको छ।

जसपाभित्र बहुमतमा रहनुभएका ठाकुर–महतो पक्षले ओलीसँगको सहकार्यका लागि फाइनल डिल गरिरहँदा उपेन्द्र यादव र बाबुराम भट्टराई भने बिपक्षीसँग मिलेर अघि बढनु पर्ने भन्दै बिवाद गरेपछि विभाजनको खतरा देखिएको छ । अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीलाई कुनै पनि हालतमा हटाउनुपर्ने र कांग्रेस एवं माओवादीसँग मिलेर नयाँ सरकार बनाउनुपर्ने पक्षमा देखिनुभएको छ ।

लुम्बिनी प्रदेशको प्रकरणले पनि जसपाको विवादले गम्भीर मोड लिएको छ। लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित ४ जना मन्त्री बनाएपछि जसपाको विवाद चर्किएको हो। यादव भट्टराई पक्षले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाउँदै कारबाहीको चेतावनी दिएको छ भने ठाकुर पक्षले सरकारमा जाने मन्त्रीलाई बधाई दिँदै स्पष्टिकरण सोध्नेलाई नै चेतावनी दिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदहरु सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी र जसपाकै कल्पना पाण्डे पोखरेल नेतृत्वको सरकारमा मन्त्री बन्नुभएको छ ।