जनता टाइम्स

८ बैशाख २०७८, बुधबार १२:३८

भारतमा कोरोना महामारी : पहिला अस्पताल खोज्न कुद्छन् पछि शव जलाउन घण्टौं पर्खन्छन्


काठमाडौं, बैशाख ८

कोरोनाभाइरसको महामारी व्यापक रूपमा बढिरहँदा भारतका मसानघाट र समाधिस्थलमा शव जलाउनका लागि ठूलो चाप परिरहेको छ । भर्खरै ब्रजिललाई उछिन्दै भारत विश्वमा दोस्रो धेरै प्रभावित देश बनेको छ ।

सङ्क्रमणको सुनामीले देशलाई हल्लाइदिएको छ र अस्पतालहरूलाई किनारमा पुर्‍याइदिएको छ । त्यहाँ दैनिक १ हजार जनाको कोभिड–१९ का कारणले मृत्यु हुने गरेको छ । पुनेस्थित सरकारी शवदाहगृहका कर्मचारी वरुण जङ्गम भन्छन्, ‘अहिले दिउँसोको १ बजेको छ र हामीले २२ वटा शवको अन्त्येष्टि गरिसक्यौँ ।’

प्रत्येक दिन आफूहरूले ५० देखि ६० वटा शवको दाहसंस्कार गर्ने गरेको उनको भनाइ छ । सङ्क्रमण फैलिँदै गएको गुजरातजस्ता राज्यमा सरकारद्वारा सञ्चालित शवदाहगृहमा काम गर्नेहरू मास्क वा पन्जा नलगाएरै कोभिड पीडितको दाहसंस्कार गर्न बाध्य छन् ।

परिवारका सदस्यहरूले पनि आफ्ना प्रियजनको निम्ति शय्या खोज्दै एउटा अस्पतालबाट अर्कोमा दौडिँदादौडिँदै तिनको मृत्यु भएपछि अन्तिम संस्कारका लागि लामो समय पर्खिनुपर्ने अवस्था छ । केही अस्पतालहरूले देशमा शवदाहगृहहरूमा चाप बढेकाले शव दिन ढिलाइ गर्ने गरेको बताइएको छ ।