जनता टाइम्स

८ बैशाख २०७८, बुधबार १२:५५

२२ तल्ले धरहरामा राखियो शिवलिङ्ग


काठमाडौं, बैशाख ८

प्रधानमन्त्री केपी शर्मा ओलीबाट बैशाख ११ गते उद्घाटन गर्न लागिएको २२ तले धरहरामा शिवलिङ्ग राखिएको छ । गत आइतबार गजुर राखिएको धरहरामा आज २२ औँ तलामा शिवलिङ्ग राखिएको हो ।

पुरानै शिव लिंगलाई आज विशेष पूजा गरेर स्थापना गरिएको छ । २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ।

करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा निर्माणाधीन धरहरा निर्माण ठेक्का जिआइटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको थियो । भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ ।

पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ । यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो । बीसौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । बाइसौं तलामा भने पुरानै शिवलिंग स्थापना भएको छ ।