जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १२:४२

वेव पोर्टलमार्फत मालवाहक गाडीको ट्रयाक गर्दै आइआरडी, व्यवसायीसँग थाल्यो छलफल


चितवन, जेठ २६

राजश्व अनुसन्धान विभागले मालबाहक गाडी संचालनमा सहजीकरणको लागी ल्याउन लागेको वेव पोर्टलका बारेमा छलफल गरेको छ। असारदेखि आंशिकरुपमा लागू गर्ने र साउनबाट पूर्ण कार्यान्वयनमा ल्याउने गरी वेव पोर्टलको तयारी भइरहेको छ। उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको कार्यक्रममा यही साउनबाट अनिवार्यरूपमा लागू गर्न लागिएको वेवमा आधारित भेइकल एण्ड कन्जिङ्म्यान्ट ट्रयाकिङ सिस्टमका सम्बन्धमा छलफल गरिएको हो ।

विभागले हाल परीक्षण गरिरहेको पोर्टलमा उद्गम विन्दुबाट मालसामान बोकेर मालबाहक गाडी प्रस्थान गर्नुअघि सम्पूर्ण विवरण वेवसाइटमा उपलब्ध ढाँचामा प्रविष्ट गर्नुपर्छ । सामानको विवरणसँगै गाडी नम्बर, चालकको नाम, सवारी चालक अनुमतिपत्रको विवरणसमेत उल्लेख गर्नुपर्नेछ। त्यसैगरी सामान पैठारी गर्ने फर्मको नाम तथा स्थायी लेखा नम्बर, सामानको प्रकृति एवं परिमाण पनि त्यहीँ प्रविष्ट गर्नुपर्छ।

सामान बोकेको गाडी गन्तव्यमा पुगेपछि यसबारे व्यवसायी आफैँले पुनः वेवसाइट वा एप्समार्फत घोषणा गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसको लागी वेवसाइटको साथै मोबाइल एप्ससमेत निर्माण गरिएको छ। सामान स्वीकार गर्ने व्यवसायीले पनि आफ्नो नाम, स्थायी लेखा नम्बर, बुझेको सामानको विवरण अनलाइनमा उल्लेख गराउनुपर्छ।

सो अवसरमा दिइएको जानकारीअनुसार यस पद्धति सामान ढुवानी गर्दा प्रयोग गरिनेछ । एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानबाट अर्को स्थानसम्म सामान ढुवानी गर्दा दर्ता गराएर गर्नुपर्ने हुन्छ। यस प्रणालीअन्तर्गत ढुवानी कम्पनी, आयातकर्ता र आफैँ सामान ढुवानी गर्नेहरुले मालसामान ओसारपसार गर्नुपूर्व वेवमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्टि गरेर मात्र ओसारपसार गर्नुपर्ने नयाँ सफ्टवेयर प्रणाली भएको सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रममा विभागका निर्देशक रामप्रसाद रेग्मीले यस प्रणाली के हो, यसबाट के–के फाइदा हुन्छ, यस प्रणालीको आवश्यकता किन पर्यो, हाल ढुवानीकर्ताले भर्ने गरेको चलान, यस प्रणालीबाट बन्ने चलान लगायतका बारेमा जानकारी दिनुभयो । विभागका निर्देशक टंक पाण्डेका अनुसार यस प्रणालीका बारेमा जेठ महिनाभरिमा देशभरका प्रमुख शहरहरुमा अन्तरक्रिया गरी छलफल गरिनेछ । असार महीनामा परीक्षणका रुपमा प्रयोग गरेर साउनबाट अनिवार्य रुपमा लागू गरिने पाण्डेले जानकारी दिनुभयो ।

यस प्रणालीअन्तर्गत ढुवानी पूर्व सामानको विवरण केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसारपसार गर्न सकिने बताउँदै उहाँले जसबाट बाटोमा हुने सबै झन्झट हट्ने दाबी गर्नुभयो । सो अवसरमा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजाल, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, सङ्घका उद्योग प्रवद्र्धन समितिका संयोजक सोमप्रसाद काप्रीलगायतले बोल्नुभएको थियो ।