जनता टाइम्स

८ बैशाख २०७८, बुधबार १९:१३

महेश बस्नेतको मेहनतको फल : भक्तपुरवासीको धारामा पनि आयो मेलम्चीको खानेपानी


भक्तपुर, बैशाख ८ । मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्यांकीमार्फत आजबाट भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा मेलम्चीको खानेपानी वितरण सुरु भएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका पूर्वमन्त्री महेश बस्नेत र मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आज संयुक्त रुपमा उदघाटन गरी मेलम्चीको पानी वितरण सुरु गरिएको हो ।

स्थानीय वासिन्दालाई आजबाट दैनिक १० लाख लिटर मेलम्चीको खानेपानी वितरण गर्ने गरी उद्घाटन गरिएको छ । केहीदिन भित्रै मध्यपुर थिमी क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने छ । कार्यक्रममा बोल्दै भक्तपुर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्वमन्त्री बस्नेतले मेलम्चीको धेरै पानी भक्तपुरका बासिन्दाका लागि दोश्रो फेजमा मात्रै वितरण गर्ने भनिए पनि आफूसहितको टोलीले गरेको पहलबाट पहिलो फेज मै आजबाट पानी वितरण गर्न सुरु गर्न सफल भएको जानकारी दिनुभयो ।

तात्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले अघि बढाउनु भएको मेलम्ची खानेपानी आयोजना प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा जनताले देख्ने, भोग्ने र प्रत्यक्ष अनुभव गर्ने गरी आजबाट भक्तपुरका जनताको घरघरमा पठाउन शुरु गरिएको बस्नेतको भनाई थियो । कार्यक्रममा सांसद बस्नेतले जनप्रतिनिधि, कर्मचारी, सम्बन्धीत मन्त्रालय तथा स्थानीयवासीको विशेष पहलले गर्दा भक्तपुरमा मेलम्चीको खानेपानी झार्न सफल भएको बताउनुभयो ।

‘पहिलो चरण मै भक्तपुरमा मेलम्चीको पानी झार्न हामी सफल भयौं, यो नेपाल सरकारको प्रभावकारी काम हो, तत्कालका लागि अब दैनिक ३० लाख लिटर पानी यहाँबाट वितरण हुन्छ, अब पानीको समस्या समाधान हुन्छ,’ बस्नेतले भन्नुभयो । भक्तपुरमा आजको दिन ऐतिहासिक रहेको उल्लेख गर्दै बस्नेतले पहिलो चरणको पहिलो पटक नै मेलम्चीको खानेपानी भक्तपुरवासीलाई खुवाउन सफल भएको बताउनुभयो । भोलीका दिनमा खानेपानीको व्यवस्थापन गर्दा स्थानीयवासीको मागलाई अझ वढी सम्बोधन गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले पानीको चुहावट रोक्न मर्मत सम्भारलाई ध्यान दिनु पर्ने, बोडेबाट काठमाडौँ जाने पानी रोकेपछि त्यसलाई थिमिमा वितरण प्रभावकारी बनाउनु पर्ने, पाण्डुबजार, अरनिको राजमार्ग, सर्भिस ट्रयांकको बाँकी काम पनि सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभयो ।

मध्यपुरथिमीभित्र पनि लोकन्थली, कौशलटार, गठ्ठाघर, बालकुमारी, चपाचो, नगदेशलगायतका पानीको अभाव भएको ठाउँलाई प्राथमिकतामा राखेर पानी वितरण गर्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो । स्थानीयबासीको समस्या हल गर्दै जानु पर्नेमा जोड दिदै उहाँले नील बाराहीमा थप पानी ट्यांकी निर्माण गर्नुपर्ने, कर्मचारी नियुक्तीमा स्थानीयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका प्रमुख श्रेष्ठले मेलम्चीको पानी पहिलो पटक काठमाडौंमा वितरण गरेको चैत १५ गतेपछि आज थिमिमा यो पानी वितरण गर्ने दोश्रो महत्वको दिन भएको बताउनुभयो । मेलम्चीको पानी काठमाडौँ आउने कथा मात्रै हो भन्नेहरुलाई ओली सरकारले पानी ल्याएर देखाइदिएको उहाँको भनाई थियो । ‘अहिले मध्यपुरथिमिका बासिन्दाको लागि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण सुरु भयो, अब केही दिनमै यसलाई बढाएर दैनिक ३० लाख लिटर पानी वितरण हुन्छ, अब बिस्तारै पानीको समस्या समाधान हुन्छ,’ प्रमुख श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यले मेलम्चीको पानी काठमाडौं झरेपछि ९० प्रतिशत पानी काठमाडौँमा वितरण भए पनि १० प्रतिशत पानी चुहावट भएको जानकारी दिनुभयो । पुरानो पाइप लाइनबाट पानी चुहावट हुने, पाइप फुटने गरेको बताउदै उहाँले ३२० ठाउँमा भएको चुहावट रहेको मध्ये २०० ठाउँको चुहावट रोकेको उहाँको भनाई छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका कार्यक्रम निर्देशक कमलराज श्रेष्ठले १७ करोड लिटर पानी सिस्टममा आएपछि भक्तपुरको पुरनो सिस्टमबाट पानी वितरण सुरु हुने जानकारी दिनुभयो । मेलम्चीमा नियमित पानी आउने र यहाँ हिउँ पग्लेर समेत पानी आउने भएकाले अब पानीको समस्या नहुने उहाँको भनाइ छ ।