जनता टाइम्स

८ बैशाख २०७८, बुधबार २१:५६

आफ्नै समुहभित्र दवावपछि नेता नेपाल अध्यक्ष ओलीसँग वार्तामा, यस्ता विषयमा हुन सक्छ सहमति


काठमाडौं, बैशाख ८

नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपाल आफ्नै समुहका नेताको चर्को दवाव खेप्न नसकेपछि अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा बस्नु भएको छ । प्रधानमन्त्री ओलीले पटक पटक दोस्रो तहका नेतामार्फत वार्तामा आउन आग्रह गरिरहनु भएको थियो । तर, वार्ता हुन सकिरहेको थिएन ।

प्रधानमन्त्री ओलीले वार्तामा पनि नआउने र समानान्तर गतिविधि गरिरहेपछि मंगलबार २७ सांसदलाई स्पष्टिकरण सोध्नु भएको थियो । त्यसपछि नेता नेपालको समुहमा तीव्र असन्तुष्टि व्यक्त भयो । त्यहा रहेका सांसदले संस्थापन पक्षसँग जसरी पनि वार्ता गर्न र जे मत हो त्यो पार्टीभित्रै राख्न दवाव दिए । सो पक्षका नेता एंव एमाले सांसद सोमप्रसाद पाण्डेयले वार्ता सकरात्मक भएको र यसले भोली सुखद परिणाम दिने बताउनु भयो । ‘केही कुरा राख्नुछ भने पार्टीभित्र राखौं, अन्तरपार्टी संघर्ष हुन्छ हाम्रो पार्टीभित्र अर्थात माक्र्सवादले त्यो भन्छ’, उहाले भन्नुभयो, ‘पार्टीभित्रै रहेर छलफल गरौं । कतिपय असहमति भएको छ, त्यसमा छलफल गरी सहमतिको बाटोमा पुगौं ।’

बुधबार दिउसो नेता योगेश भट्टराईसँग बालुवाटारमा करिव दुई घण्टा छलफल भएपछि प्रधानमन्त्री ओलीले त्यहीबाट नेता नेपाललाई टेलिफोन गरी छलफलमा आउन आग्रह गर्नुभएको थियो । मेरियट होटलको ९०१ नम्वर रुममा भएको छलफलमा नेता नेपालले आफ्ना केही असहमतिहरु राख्नु भएको छ । नेता पाण्डेयका अनुसार माओवादी केन्द्रबाट आएका नेताहरुलाई दिएको जिम्मेवारीप्रति कुनै असहमति नभएको र नरहने विषय स्पष्ट रहेको बताउनु भयो । तर, पदाधिकारी पद हटाउने विषय खारेज गर्नुपर्ने माग नेता नेपालको रहेको बताउनु भयो । साथै आफुहरुमाथी गरिएको कारवाही फुकुवा हुनुपर्ने विषय पनि नेता नेपालले छलफलको क्रममा उठाउनु भएको थियो ।