जनकपुर, बैशाख ९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई जनकपुर विमानस्थलमा नेकपा माओवादी केन्द्रका नेताले स्वागत गर्नुभएको छ । एक पार्टीको नेतालाई विमानस्थलमा अर्को पार्टीको नेताले स्वागत गरेको सम्भवत यो पहिलो पटक होला ।
काठमाडौंमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंगको छलफललगत्तै जनकपुरधाम आइपुग्नु भएका नेता नेपाललाई एमालेसंगै माओवादी नेताले पनि स्वागत गर्नुभएको हो । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा र रामकुमार शर्मा नेता नेपाललाई स्वागत गर्न फुलमाला बोकेर विमानस्थलमै पुग्नु भएको थियो ।
ओलीलाई नै अर्को पार्टी बनाउन लागेको आरोप लगाईरहनु भएका नेता नेपाल भने लगातार शंकास्पद गतिविधि गरिरहनु भएको छ । जसलाई पार्टी संस्थापन पक्षले निरन्तर निगरानी गरिरहेको बताइएको छ । वार्तामा एकताको कुरा गर्ने र गतिविधि भने अर्को पार्टीको गर्ने विषयले परिस्थिति बिग्रिएको कतिपय नेताको भनाई छ ।
विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिंदै नेता नेपालले अध्यक्ष ओलीसंग केहि सहमति नभएको बताउदै भन्नुभयो, ‘अब कसरी अगाडि बढ्नेबारे पछि भन्छु ।’ नेता नेपाल यदुवंश झाको नातीको ब्रतबन्ध र मोडल क्याम्पस जनकपुरका संचालक वीरेन्द्र साहको छोराको विवाहमा सहभागी हुन जनकपुरधाम आएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्