काठमाडौं, बैशाख १० । सत्तारुढ नेकपा एमालेले माधवकुमार नेपालसहितका नेताहरु पार्टी बिभाजनको काममा लागेको भन्दै मूलप्रवाहमा फर्किन सवै नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले बिशेष प्रस्ताव पारित गर्दै मुल प्रवाहमा फर्कनेलाई बिना पूर्वाग्रह पार्टीमा हार्दिक स्वागत, सम्मानपूर्ण व्यवहार र उचित जिम्मेवारी दिइने घोषणा गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनस्र्थापित भएसँगै पार्टीलाई नयाँ ढङ्गले एकताबद्ध र सुदृढ गर्ने अवसर प्राप्त भएको छ । तर यसलाई सदुपयोग गर्दै विगतका कमी कमजोरीप्रति आत्मालोचित भएर पार्टीमा क्रियाशील हुनुको साटो पार्टीका केही नेताहरु गुटगत भेला, समानान्तर गतिविधि र अर्को समूह निर्माण गर्ने उद्देश्यले अराजक एवं विभाजनकारी क्रियाकलापमा सङ्लग्न देखिनुभएको छ । यस्ता गतिविधिहरु आम कार्यकर्ताहरुको भावनाका विरुद्ध तथा देश, जनता तथा कम्युनिष्ट आन्दोलनका लागि हानिकारक छन् । यस विषयलाई गम्भीर रुपमा लिँदै बैठक सम्बद्ध कमरेडहरुलाई यस्ता क्रियाकलाप अविलम्ब बन्द गर्न, पार्टीका नीति र नेतृत्वका पक्षमा उभिन र पार्टी एकतामा योगदान गर्न आह्वान गर्दछ । यस्ता क्रियाकलाप जारी रहे पार्टीको विधान आकर्षित हुनेतर्फ पुनः सचेत गराउँछ । भूलबस समानान्तर कमिटीमा बस्नुभएका कमरेडहरुलाई त्यसबाट अलग हुन आह्वान गर्दछ । जनप्रतिनिधिहरुलाई आफूलाई उम्मेदवारी दिने पार्टी र मत दिने मतदाताहरुको भावनाको सम्मान गर्दै अनुशासित ढंगले अगाडि बढ्न आह्वान गर्दछ,’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘विगतको आफ्नो क्रियाकलाप र भूमिकाको आत्मसमीक्षा गर्दैै मूलप्रवाहमा फर्किने कमरेडहरुलाई बिना पूर्वाग्रह पार्टीमा हार्दिक स्वागत, सम्मानपूर्ण व्यवहार र उचित जिम्मेवारी दिइने विश्वास यो बैठक सम्बद्ध सबैलाई दिलाउन चाहन्छ ।’
बैठकले निकट भविष्यमा हुने सबै तहका उपनिर्वाचनहरुको तयारीमा सम्पूर्ण रुपले केन्द्रित हुन सम्बन्धित पार्टी कमिटीहरुलाई निर्देशितसमेत गरेको छ ।
यस्तो ११ प्रस्ताव
नेकपा (एमाले) दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज २०७८ वैशाख १० गते अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भयो । बैठकले वैशाख ६ गतेको बैठकमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिवद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदनलाई सदस्यहरुबाट प्राप्त सुझावहरु समेत ग्रहण गर्दै पारित गरेको छ । बैठकले हालका लागि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल तथा सदस्यहरु वामदेव गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुबीर महासेठ, केशव बडाल र डा. पुष्पराज कँडेल रहनुभएको १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन समेत गरेको छ ।
बैठकले कर्णाली प्रदेशसभा संसदीय दलको निर्णयको अवज्ञा गर्दै फ्लोर क्रस गरेर अनुशासनको गम्भीर उल्लंघन गर्ने कर्णाली प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने, प्रदेशसभा सदस्यबाट हटाउने र सो विषयमा प्रदेश सभालाई सूचित गर्ने निर्णय गरेको छ ।

बैठकले देहायका प्रस्तावहरु पारित गरेको छः
प्रस्तावहरु
१. २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनस्र्थापित भएसँगै पार्टीलाई नयाँ ढङ्गले एकताबद्ध र सुदृढ गर्ने अवसर प्राप्त भएको छ । तर यसलाई सदुपयोग गर्दै विगतका कमी कमजोरीप्रति आत्मालोचित भएर पार्टीमा क्रियाशील हुनुको साटो पार्टीका केही नेताहरु गुटगत भेला, समानान्तर गतिविधि र अर्को समूह निर्माण गर्ने उद्देश्यले अराजक एवं विभाजनकारी क्रियाकलापमा सङ्लग्न देखिनुभएको छ । यस्ता गतिविधिहरु आम कार्यकर्ताहरुको भावनाका विरुद्ध तथा देश, जनता तथा कम्युनिष्ट आन्दोलनका लागि हानिकारक छन् । यस विषयलाई गम्भीर रुपमा लिँदै बैठक सम्बद्ध कमरेडहरुलाई यस्ता क्रियाकलाप अविलम्ब बन्द गर्न, पार्टीका नीति र नेतृत्वका पक्षमा उभिन र पार्टी एकतामा योगदान गर्न आह्वान गर्दछ । यस्ता क्रियाकलाप जारी रहे पार्टीको विधान आकर्षित हुनेतर्फ पुनः सचेत गराउँछ । भूलबस समानान्तर कमिटीमा बस्नुभएका कमरेडहरुलाई त्यसबाट अलग हुन आह्वान गर्दछ । जनप्रतिनिधिहरुलाई आफूलाई उम्मेदवारी दिने पार्टी र मत दिने मतदाताहरुको भावनाको सम्मान गर्दै अनुशासित ढंगले अगाडि बढ्न आह्वान गर्दछ । विगतको आफ्नो क्रियाकलाप र भूमिकाको आत्मसमीक्षा गर्दैै मूलप्रवाहमा फर्किने कमरेडहरुलाई बिना पूर्वाग्रह पार्टीमा हार्दिक स्वागत, सम्मानपूर्ण व्यवहार र उचित जिम्मेवारी दिइने विश्वास यो बैठक सम्बद्ध सबैलाई दिलाउन चाहन्छ ।
२. यस अवधिमा पार्टी एकताको पक्षमा र सही विचार एवं सही नेतृत्वका पक्षमा दृढतापूर्वक उभिने देशभरका नेता एवं कार्यकर्ताहरु, जनप्रतिनिधिहरु, पार्टी सदस्य एवं शुभचिन्तकहरु एवं न्यायप्रेमी जनसमुदायप्रति यो बैठक हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछ । आगामी दिनमा पनि यही उत्साहका साथ सुदृढ पार्टी निर्माणका लागि अगाडि बढ्न आह्वान गर्दछ ।
३. यो बैठक निकट भविष्यमा हुने सबै तहका उपनिर्वाचनहरुको तयारीमा सम्पूर्ण रुपले केन्द्रित हुन सम्बन्धित पार्टी कमिटीहरुलाई निर्देशित गर्दछ । मतदाता नामावली, मतदान केन्द्रलगायत निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा आवश्यक ध्यान दिन आग्रह गर्दछ ।
४. यो बैठक हालै नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबीच भएको ३ बुँदे सहमतिलाई हार्दिक स्वागत गर्दछ । आफ्ना सम्पूर्ण राजनीतिक गतिविधिहरु शान्तिपूर्ण तबरले सञ्चालन गर्ने र सबै समस्याहरुको समाधान वार्ताका माध्यमबाट गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा विप्लव नेतृत्वको नेकपालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यस सहमतिसँगै राजनीतिक समस्याहरुको आधारभूत रुपमा समाधान भई मुलुक हिंसामुक्त भएको सकारात्मक अवस्थामा पुगेको छ । पृथकतावादी गतिविधि सञ्चालन गरिरहेको सिके राउत समूह राष्ट्रिय एकताको मूलप्रवाहमा सम्मिलित हुनु, सशस्त्र गतिविधिमा सङ्लग्न विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण धारमा समाहित हुनु र संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएका दलहरु संविधानको मूल प्रवाहमा आउनु राष्ट्रिय एकता, शान्तिपूर्ण राजनीति र लोकतन्त्रका पक्षमा हासिल भएको ऐतिहासिक उपलब्धिका रुपमा रहेका छन् । यस सफलताका लागि बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ तथा धन्यवाद ज्ञापन गर्दछ ।
५. विगतमा सरकारले अवलम्बन गरेका विभिन्न प्रभावकारी उपायहरुका कारण नेपालमा कोरोना महामारी तुलनात्मक रुपमा नियन्त्रणमा रह्यो । समयमै खोपको व्यवस्था गरेर अग्रपङ्क्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा ज्येष्ठ नागरिकहरुका लागि खोप अभियान पनि सुरु भइसकेको छ । तर कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) को प्रवेशसँगै नेपालमा कोभिड महामारीको नयाँ लहरको जोखिम पैदा भएको छ । केही समययता संक्रमण तीब्र रुपमा फैलिरहेको र संक्रमितहरुको मृत्यु पनि बढिरहेको देखिएको छ । यो बैठक कोरोनाबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोना महामारी नियन्त्रणमा थप कदम चाल्न, खोपको सुनिश्चितताका लागि थप कुटनीतिक पहल गर्न र महामारीबाट अर्थतन्त्र र जनजीविका प्रभावित हुन नदिनका लागि आवश्यक उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गर्दछ । कोरोना महामारीविरुद्ध जारी गरिएका स्वास्थ्य मापदण्ड र प्रोटोकलको पालनाका लागि आम जनसमुदायसँग आग्रह गर्दछ ।
६. यो बैठक प्रदेश तथा स्थानीय पार्टी कमिटी, जनसंगठन, जनप्रतिनिधिहरु तथा सबै पार्टी सदस्यहरुलाई स्वयंसेवी भूमिकाका साथ कोरोना विरुद्धको लडाइँमा सहभागी हुन आह्वान गर्दछ । यसका लागि स्थानीय तहसँग समन्वय गर्दै क्वारेन्टिन निर्माण गर्न, विदेशबाट फर्किएका तथा संक्रमणको आशंका भएका व्यक्तिहरुलाई क्वारेन्टिनमा व्यवस्थापन गर्न, स्वास्थ्य मापदण्डको पालना गर्न÷गराउन, यसको अनुगमन गर्न तथा संक्रमितहरुलाई आवश्यक सहयोग पु¥याउन सक्रिय रुपले लाग्न निर्देशित गर्दछ ।
७. यो बैठक केही समय अगाडि दिवंगत हुनुभएका पार्टी केन्द्रीय सदस्य, संविधानसभा सदस्य, पूर्व राज्यमन्त्री एवं भूमि समस्या समाधान आयोगका सदस्य कमरेड दिनेशचन्द्र यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
८. यो बैठक गम्भीर रुपमा अस्वस्थ भई उपचार गराइरहनुभएका केन्द्रीय सदस्य कमरेडहरु डम्बरसिंह सम्बाहाम्फे तथा लालबहादुर विश्वकर्माको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
९. यो बैठक यही वैशाख १ गतेबाट सुरु भएको मुस्लिम समुदायको महत्वपूर्ण पर्व रमादानको अवसरमा सबै मुस्लिम दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।
१०. यो बैठक केही समय अगाडि देशका विभिन्न भू–भागमा भएको आगलागी र डढेलोका कारण जनधनमा पुग्न गएको क्षति र वातावरणमा परेको प्रतिकूल प्रभावका लागि गहिरो चिन्ता व्यक्त गर्दै आगलागीबाट घरबार गुमाएकाहरुको पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गर्दछ । आगलागी, बाढी–पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिका असर न्यून गर्न थप तयारीका लागि पनि सरकारलाई आग्रह गर्दछ । त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा खडेरी र प्रदेश नं १ मा असिनाले कृषि बालीमा पुर्याएको नोक्सानीबाट पीडित किसानहरुलाई उचित राहत दिन सरकारसँग माग गर्दछ । सरकारले केही समय अगाडि न्यूनतम र न्यून विद्युत् खपत गर्ने उपभोक्ताहरुलाई विद्युत् महसुलमा दिएको छुट सामुदायिक विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई पनि उपलब्ध गराउन ध्यानाकर्षण गर्दछ ।
११. यो बैठक गतः फेबु्रअरीमा म्यान्मारमा भएको सैन्य ‘कु’ र आङ सान सुकी लगायत जननिर्वाचित प्रतिनिधिहरुको गिरफ्तारीप्रति गहिरो चिन्ता व्यक्त गर्दै लोकतन्त्रको तत्काल बहाली र जनप्रतिनिधि एवं लोकतान्त्रिक नेताहरुको अविलम्ब रिहाइको माग गर्दछ । लोकतन्त्रको पक्षमा भइरहेका शान्तिपूर्ण प्रदर्शनमा भइरहेको दमन र निर्दोष नागरिकहरुको हत्याप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यसको विरोध गर्दछ ।
प्रदीप ज्ञवाली
प्रवक्ता
१० वैशाख २०७८













प्रतिक्रिया दिनुहोस्