जनता टाइम्स

११ बैशाख २०७८, शनिबार १९:५१

देशकै नमुना जिल्ला बन्दै भक्तपुर : थप पाँच ठूला परियोजना सञ्चालन हुँदै


काठमाडौं, बैशाख ११

भक्तपुर जिल्ला देशकै नमुना जिल्ला बन्ने भएको छ । जिल्लामा थप पाँच ठूला परियोजना सञ्चालन हुने भएपछि देशकै नमुना जिल्ला बन्ने भएको हो । ‘तँ सोच–म पुर्याउँछु, असम्भव भन्ने केही छैन’ भन्ने भनाईलाई यथार्थमा रुपान्तरण गर्दै जिल्लाका जनप्रतिनिधिहरुले ठूला आयोजना निर्माण हुने काम गरेपछि जिल्ला नमुना बन्न सफल हुने भएको हो । तीनै तहका सरकारले जनताको दैनिक जीवनमा देख्ने र भोग्ने गरी साना तथा ठूला गरी हजारौं विकासका आयोजनाहरु निर्माण गरिरहेको बेला भक्तपुरमा कतिपय निर्माण सम्पन्न भइसके भने कतिपय निर्माणको क्रममा छन् ।

त्यस्तै कतिपय शिलान्यास हुने क्रममा रहेका छन्, हनुमन्ते करिडोर, मनोहरा करिडोर, दिव्येश्वरी प्लानिङ, हनुमन्ते जग्गा एकिकरण अयोजना, रंगशाला, कवोर्ड हल लगायतका केही ठूला अयोजनाहरुमा केही विवादका वावजुद पनि निर्माणका प्रकृया अगाडी बढेको बताइएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा जिल्लामा थप पाँच वटा ठूला आयोजनाहरु निर्माण हुने भएको हो ।

थप नयाँ निर्माणको क्रममा अगाडी बढेका आयोजनाहरुमा मध्यपुर थिमीमा रहेको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको एक सय ७८ रोपनी क्षेत्रफल जग्गामा पाँच हजार क्षमताको आधुनिक सभागृह, सूर्यविनायक नगरपालिकाको बालकोटदेखी गुण्डुसम्मको स्मार्ट सिटी, जगातीमा एकै स्थानमा ८ वटा सरकारी कार्यालय रहने गरी संरचना निर्माण, छेडामा मदन भण्डारी फउण्डेशन परिसर तथा सोही स्थान नजिकै बालप्रतिभा परिसरको निर्माण हुने भएको छ ।

बस्नेतको नेतृत्वमा आज शहरी विकास मन्त्रालयका सचिव रमेश सिं, भवन निर्माण विभागका महाप्रवन्धक नवराज प्याकुरेललगायतको सरोकारवाला निकायहरुले गरेको स्थलगत अनुगमन तथा निरिक्षणपछि तत्काल उक्त पाँचै आयोजनाहरुको तिव्र गतिमा निर्माणको कार्य शुभारम्भ गरिने भएको छ । पाँच हजार क्षमताको आधुनिक सभागृह निर्माणको लागि संघीय सरकारको नीति तथा कार्यक्रममा समेत समावेश छ र उक्त कार्यको लागि आवश्यक बजेटको व्यवस्थापन समेत भइसकेको छ ।

नेता बस्नेतले भन्नुभयो, ‘निर्वाचनको समयमा जनताको माझ गरेको प्रतिवद्धतालाई शतप्रतिशत पुरा गरी भक्तपुरको आर्थिक, सामाजिक, पर्यटकीय, रोजगारीलगायतका क्षेत्रहरुको नयाँ नयाँ अवसरहरुको खोजि गर्नु अबको पहिलो प्राथमिकता रहेको छ’ उहाँले भन्नुहुन्छ, ‘जनतालाई स्वास्थ्य तथा रोजगारी मूलक आयोजनाहरु अब निर्माणको क्रममा रहेका छन् । अब निर्माण हुने आयोजनाले जनताको दैनिक जीवनलाई समेत सहजता पैदा गर्छ, वैदेशीक रोजगारीको लागि खाडी मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य हुन्छ । आर्थिक समृद्धिको आधार तयार हुन्छ ।’

स्थलगत अनुगमनका क्रममा सचिव सिंले सभागृहको चारवटै तर्फ कम्तिमा ६ मिटरको सडक बन्न कुनै पनि समस्या नभएकाले तत्काल निर्माण प्रकृया अगाडी बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘माननीय महेश बस्नेतको पहल तथा सक्रियता नै भक्तपुरको विकासका सबै ढोकाहरु खुल्ला भएको हो । विकासको चिन्ता, चासो, निरन्तरता, दृढता भएको नेतृत्व भक्तपुरले पाएकोले संघिय सरकारले भक्तपुरमा आएका कुनै पनि योजनालाई तिव्र गतिमा अगाडी बढाउने छ । मन्त्रालय तथा कर्मचारीबाट कुनै प्रकारको असहयोग हुने भन्ने प्रशंग नै चल्दैन, एक दिन ढिलाई हुँदैन र शतप्रतिशत काम हुन्छ ।’

त्यस्तै संघिय सरकार, शहरी विकास मन्त्रालयले देशभर १२ वटा स्मार्ट सिटीहरु निर्माण गर्ने प्रकृया अगाडी बढाएसँगै बालकोटदेखी गुण्डुसम्मको १७ हजार रोपनीमा निर्माण हुने सिटीको काम तत्काल हुने जनाएको छ । जसको लागि एक अर्व रुपैंया रकम समेत विनियोजित भइसकेको, प्रधानमन्त्री केपी शर्मा ओलीले यसै महिनाभित्रमा उक्त स्मार्ट सिटीको शिलान्यास गर्ने तयारी समेत थालिएको बताइएको छ । त्यस्तै जगातीमा नगर अस्पतालको साथै ८ वटा सरकारी कार्यालयहरु स्थापना गर्न आवश्यक संरचनाहरुको निर्माण हुने भएको छ ।

अर्थ मन्त्रालयको नाममा रहेको दुई सय ८० रोपनी क्षेत्रफलमा उक्त ८ वटा कार्यालयहरु निर्माण हुने भएको हो । नगर अस्पतालको लागि नगरपालिका र सांसद विकास कोषको तर्फबाट रु एक करोड ७० लाखको लागतमा हाल निर्माणको क्रममा रहेको छ । एक महिनाभित्रै अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

यता सूनपा ५, ६ र ७ वडाको संगम स्थल (राष्ट्रिय प्राणी उद्यान केन्द्रसँगै) करिव १५ रोपनी क्षेत्रफलमा छेडोमा मदन भण्डारी फाउण्डेशन परिषरको निर्माण हुने भएको छ । अहिले त्यहाँ फुटशल मैदान, विभिन्न प्रकारका खेलमैदान, फुट ट्रायललगायत पर्यटकीय, स्वास्थ्य तथा खेल क्षेत्रको विकासका कार्यहरु भइरहेका छन् । संघीय सरकारको लागतमा अब फाउण्डेशन पार्क, भवन, कर्वोड हललगायतका आयोजनाहरु निर्माण हुने भएका छन् । उक्त स्थान नजिकै वालप्रतिभा परिषरको समेत निर्माण हुने भएको छ ।