जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार १९:४५

सही नेतृत्व छनोटको परिणाम : न्यौपानेको सय दिनमै उदयपुर सिमेन्टले गर्यो १२ वर्षयताकै नयाँ किर्तीमान


उदयपुर, बैशाख १२ । कुनै पनि संस्थामा इमान्दार नेतृत्व पाए कस्तो फरक पर्छ भन्ने उदाहरण उदयपुर सिमेन्ट बन्न पुगेको छ । दुई बर्षअघिसम्म नेतृत्वबिहीन यस उद्योगले इमान्दार नेतृत्व पाउँदा कस्तो हुन्छ भन्ने प्रमाण आफ्नो प्रगतिबाटै दिएको हो ।

नयाँ नेतृत्वको अब्बल कामको परिणाम दक्षिण एसियाकै उत्कृष्ट गुणस्तरीय गैंडा सिमेन्ट बिक्रीमा एकैदिन साढे १७ हजार बढी बोरा बिक्रीको किर्तीमान कायम भएको छ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा सिमेन्ट बिगत १२ वर्षयता एकैदिन सबभन्दा धेरै बिक्री भएको नयाँ किर्तीमान हो ।

दुई वर्षसम्म नेतृत्वविहीन यस उद्योगले नयाँ महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपाने पाएको शुक्रबार सय दिन पुगेको छ । २०७७ माघ १ गते नेतृत्व सम्हाल्न आउनु भएका जिएम न्यौपानेले कार्यकालको सय दिनमा निकै प्रगति गराउन सफल हुनुभएको हो । उद्योगका अनुसार वैशाख ६ गते एकैदिन १७ हजार ३ सय ६४ बोरा सिमेन्ट बिक्री भएको छ । जिएम न्यौपानेका अनुसार पछिल्लो १२ वर्षमा यो बिक्री नयाँ किर्तीमान हो । वि.सं. ०४९ सालदेखि व्यावसायिक उत्पादन थालेको यस उद्योगले स्थापनापछि ०५५ सालतिर एकपटक धेरै बिक्री भएपछि यो नै अर्को नयाँ किर्तीमान हो ।

‘म आउनुभन्दा अगाडि ०५५ तिर यसको हाराहारी सिमेन्ट बिक्री भएको अभिलेखमा देखियो तर, त्यसयता बढीमा १२ हजार बोराभन्दा धेरै बिकेको रेकर्ड छैन,’ आफ्नो सय दिनको कामबारे सोधिएको प्रश्नमा खुसी साटदै जिएम न्यौपानेले भन्नुभयो, ‘पछिल्लो १२ वर्षमा मेरो कार्यकाल सुरु भएको सयदिनभित्र यो किर्तीमान कायम हुनुलाई मैले सुखद परिणामको रुपमा हेरेको छु ।’ उहाँका अनुसार सो बिक्रीबाट एकैदिन उद्योगले १ करोड २९ लाख ५० हजार ७१ रुपैयाँ प्राप्त भएको छ । पछिल्लो समय सिमेन्ट बिक्रीदर ह्वात्तै बढेको छ भने दैनिक कम्तीमा सरदर ८ देखि १२÷१३ हजार बोरा सिमेन्ट बजार जाने गरेको छ । धेरै सिमेन्ट बिक्री हुनुमा उद्योगका कर्मचारी, मजदुर, ट्रेड युनियनआबद्ध संस्थाहरु, अधिकृत बिक्रेतालगायत सबै पक्षको भुमिका रहेको उहाँको भनाई छ ।

उहाँले माघमा पहिलो चोटी उद्योग आउँदा कोईला, जिप्सनलगायत कच्चा पदार्थ नभएकाले १० दिनमा सामग्री जुटाएर उद्योग सञ्चालनमा ल्याएको बताउनुभयो । जसका बाबजुद माघमा २ लाख ११ हजार १ सय ३८ बोरा सिमेन्ट बेचेको उद्योगले फागुनमा २ लाख ३८ हजार ३ सय ७१ बोरा बिक्री गरेको छ । उद्योगले आर्थिक वर्ष सुरुदेखिको ६ महिनामा बेचेजत्तिकै सिमेन्ट न्यौपानेको सयदिनको कार्यकालमा बिकेको हो ।
बिक्री विभागका कर्मचारी कुवेर काफ्लेका अनुसार साउन १ देखि पुस मसान्तसम्म ६ लाख ९८ हजार ५ सय ८६ बोरा सिमेन्ट बिकेकोमा न्यौपानेको सय दिनमै माघ १ देखि वैशाख ९ भित्र ६ लाख ६० हजार १ सय ७३ बोरा सिमेन्ट बिक्रि गरेको छ । यसको आधारमा सय दिनको बिक्री झण्डै ६ महिनामा बिके बराबर रहेको छ ।

अहिले उत्पादन र बिक्री दुवैमा प्रगति भएको र आफू आउँदा ६५ करोड ८२ लाख रहेको चालु दायित्वलाई सय दिनभित्र ५० करोड भुक्तानी गरिसकेको न्यौपानेले बताउनु भयो । बाँकी १६ करोड दायित्व आउँदो असारभित्र भुक्तानी गरिसक्ने उहाँको भनाइ छ । ‘बाँकी दायित्व पनि चालू वर्ष (असार)भित्रै तिरिसक्ने गरी सिमेन्ट उत्पादन र बिक्रीमा मेरो ध्यान गएको छ, यन्त्र उपकरणले धोका नदिए त्यो ठूलो कुरा पनि होइन,’ न्यौपाले भन्नुहुन्छ ।

उदयपुर सिमेन्ट उद्योगले पछिल्लो समय कोइला र जिप्सनलगायत सामग्री ल्याएबापत सिमेन्ट नै भुक्तानी (वस्तु बिनिमय) दिने प्रणालीको पनि अन्त्य गरी सिमेन्ट अन्यत्र बेचेर भुक्तानी गर्दा नगदै दिने प्रचलन बसाएको छ । कोईला र जिप्सनको भुक्तानी सिमेन्टबाट गर्दा बिक्रेताले लक्ष्यमा आधारित बिक्रीको कमिसन, बैंक ग्यारेण्टी, नगद छुटजस्ता स्किम नपाउने हुनाले उद्योग र बिक्रेता दुवैलाई घाटा हुने भएकाले त्यस्तो प्रणाली अन्त्य गरिएको न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बिक्री नीति लिएपछि प्रदेश १, २ र बागमतीमा अधिकृत बिक्रेताको संख्या वृद्धि हुनुका साथै सिमेन्ट बिक्री पनि दोब्बर भएको छ । यो प्रणालीलाई अझ बजबुत बनाउँदै बिक्री दर बढाउने लक्ष्य लिइएको जिएम न्यौपानेले बताउनु भयो ।

आफ्नो कार्यकालमा उद्योगलाई अल्पकालीन र दीर्घकालीन रुपमा मजबुत बनाउँदै लानका लागि सञ्चालक समितिका निर्णय, ट्रेड युनियन र मजदुर कर्मचारीसँग नियमित सुझाव सल्लाह लिएर साथ सहयोग माग्दै अघि बढने आफ्नो योजना पनि न्यौपानेले सुनाउनु भयो । न्यौपानका अनुसार उद्योगलाई राम्रो बनाउन सबभन्दा ठूलो भूमिका कर्मचारी मजदुरको रहने भएकाले उनीहरुलाई यसअघि नियमित खान नपाएको मासिक तलबभत्ता समयमै खुवाउन थालेको तथा नागरिक लगानी कोष, संचय कोष र अतिरिक्त पारिश्रमिकको सुविधा भुक्तानी पनि नियमित गर्दै आएको छ । उद्योगले आर्थिक पारदर्शिताका लागि समयमै लेखापरीक्षण गर्ने नीति लिएर चालू आर्थिक वर्षको पुससम्मको आन्तरिक लेखापरीक्षण गरिसकेको छ । त्यस्तै यसअघि कायम रहेको कर्मचारीलाई अनावश्यक काज बिदा हटाइएको छ ।