जनता टाइम्स

१३ बैशाख २०७८, सोमबार १०:५३

उपत्यकाका तीन सिडिओ र सुरक्षा निकायबीच काठमाडौंमा छलफल शुरु


काठमाडौं, बैशाख १३

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायबीच छलफल शुरु भएको छ । काठमाडौं जिल्ला प्रशासनको कार्यालय बबरमहलमा बैठक शुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरे लगतै आज भईरहेको छलफलमा अब कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल भईरहेको बताइएको छ । देशका केही जिल्लामा निषेधाज्ञा जारी रहेको बेला काठमाडौं उपत्यकामा आगामी दिनमा के रणनीति बनाउने भनेरै छलफलमा जुटेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

स्रोतका अनुसार काठमाडौंमा तत्कालका लागि हाफ लकडाउन गर्ने सम्भावना रहेको छ । अहिले संचालनमा रहेका सबै क्षेत्रमा आधा मात्रै खुल्न दिने, सवारीमा जोरविजोर लागु, कार्यालयमा आधा कर्मचारीमात्र काम गर्न दिने, सकेसम्म कार्यालयको काम घरबाटै गर्न लगाउने लगायतका निर्णय हुन सक्ने बताइएको छ । साथै कोरोना संक्रमण रोकथामको उपायका विषयमा गहन छलफलमा जुटेको उहाँले बताउनुभयो ।