जनता टाइम्स

१४ बैशाख २०७८, मंगलवार १९:२९

चीनले गर्यो नेपालसहित पाँच देशका विदेशमन्त्रीसँग छलफल, कोरोनाविरुद्ध सहकार्य गर्न सहमत


काठमाडौं, बैशाख १४ । कोभिड–१९ महामारीसँग लड्ने विषयमा नेपाल, चीन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीबीच छलफल भएको छ । पाँच देशका बिदेशमन्त्रीबीच आज भर्चुअल छलफल भएको हो ।

छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यी र अन्य तीन मुलुकका विदेशमन्त्री सहभागी हुनुहुन्थ्यो । छलफलमा कोभिड महामारीसँग लड्नको लागि ६ वटा मुलुकबीच आपसी सहकार्य र एकता गर्नेबारे छलफल भएको थियो । परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार छलफलमा ठोस सहमति नजुटेपनि सहभागि मुलुकबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउने र कोभिडसँग जुध्नेबारे एकमत भएको छ । पछिल्लो समय कोभिडको नयाँ स्वरुप फेला परेको छ । भारतसहितका मुलुकहरु यो महामारीबाट संकटग्रस्त छन ।

नेपालसहितका दक्षिण एसियाली मुलुकमा पछिल्लो समय भाइरस संक्रमण ह्वात्तै बढेको छ र यसले स्वास्थ्य प्रणालीमा जटिलता थपेको छ । भारतले भाइरस संकट खेपेको र उसले आपूर्ति गर्ने भनेको खोप प्रभावित भएको परिस्थितीमा चीनले छलफल चलाएको हो ।