जनता टाइम्स

१४ बैशाख २०७८, मंगलवार २०:००

कोरोना संक्रमण रोक्न भारतीयलाई नेपाल प्रवेशमा प्रतिबन्ध


इटहरी, बैशाख १४ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सुनसरीको नेपाल–भारत सीमा क्षेत्रबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ । सुनसरी प्रशासनका अनुसार सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी भारतीयलाई नेपाल प्रवेशमा रोक लगाइएको हो ।

सीमा क्षेत्रमा भारतीय नागरिकहरुको आगमन वृद्धि भएसँगै सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीले सीमानाका सील गरेको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार सुनसरीको कोसी, हरिनगरा, देवानगन्ज, बर्जु र भोक्राहा नर्सिङ गाउँपालिकाका सबै सीमा सिल गरी भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाइको छ ।

सशस्त्र प्रहरीले बढी मात्रामा भीड हुने सुनसरीका भाण्टाबारी, घुस्की, लौकही, देवानगन्ज, कप्तानगन्ज, वसन्तपुर लगायतका स्थानमा प्रयाप्त सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको उहाँको भनाई छ । सशस्त्र प्रहरीले चौबीसै घण्टा सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको छ ।

सप्तकोसी पूर्वी तटबन्द निर्माणको काम भैरहेकाले परियोजनाका कर्मचारी बाहेक अन्य भारतीय नागरिकहरुलाई नेपाल प्रवेश बन्द गरिएको एसपी पौडेलले बताउनु भयो । सुनसरीमा कोरोना भाइरसका कारणहालसम्म एक सय ५९ जनाको मृत्यु भइस्केको छ भने एक सय ८७ जना नयाँ संक्रमित थपिएका छन ।