जनता टाइम्स

१५ बैशाख २०७८, बुधबार १६:०६

गण्डकी प्रदेशसभा केही समयका लागि स्थगित, दुई सांसद अनुपस्थित


पोखरा, बैशाख १५

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारमाथी प्रस्तुत अविश्वासको प्रस्तावमा छलफल सकिएको छ । छलफल सकिएपछि बैठक ४ बजेर ३० मिनेटसम्मका लागि स्थगित गरिएको छ । तर, बैठकमा दुई सांसद अनुपस्थित बनेका छन् ।

स्वतन्त्र सांसद दिपक मनाङे र जनमोर्चाका सांसद खिमविक्रम शाही बैठकमा अनुपस्थित हुनु भएको छ । उहाहरुले फोन पनि स्वीचअफ गरेपछि विश्वास प्रस्तावका पक्षधरहरु सशंकित बनेका छन् । उनिहरुले गाडी नै लिएर सांसद मनाङेलाई खोजेपछि भेटन् सकेका छैनन् ।

अविश्वास प्रस्तावका पक्षधरले जनमोर्चाको समर्थनको आशा गरेका थिए । अविश्वास प्रस्ताव पारित हुन ६० सदस्यीय प्रदेशसभामा ३१ मत चाहिन्छ । कांग्रेसको १५ र माओवादीको १२ सांसदसहित २७ जना छन् । जसपाका २ जना छन् । यो मत मात्रैले पुग्दैन ।

अब जनमोर्चाका दुवैजनाले मत दिएको खण्डमा अविश्वास प्रस्ताव पारित हुने सम्भावना जीवितै छ । तर जनमोर्चाका कृष्ण थापा पनि अविश्वास प्रस्तावको पक्षमा जाने पार्टीको निर्णयप्रति असन्तुष्ट छन् । एमालेका एकजना माधव नेपाल पक्षधर सांसद इन्द्रलाल सापकोटाको भूमिका प्रष्ट भइनसकेको बताइएको छ ।