जनता टाइम्स

१७ बैशाख २०७८, शुक्रबार ०९:३१

दैलेखका १५ जना जनप्रतिनिधिलाई तीन दिने स्पष्टीकरण, प्रदेश कमिटीका चार सदस्यलाई कारवाही सिफारिस


काठमाडौं, बैशाख १७ । समानान्तर कमिटी गठन गरेको भन्दै नेकपा एमालेले दैलेखका चार जना प्रदेश कमिटी सदस्यलाई कारवाही गर्न सिफारिस गरेको छ भने १५ जना जनप्रतिनिधिलाई तीन दिने स्पष्टीकरण सोधेको छ । दैलेख एमालेको पटक क्षेत्र हो यहिँबाट निर्वाचित सांसद अम्मरबहादुर थापा फ्लोर क्रस गरेर मन्त्री हुनुभएका ेछ । उहाँकै आतिथ्यतामा बसेको वैठकले जिल्लामा १८५ सदस्यीय जिल्ला कमिटी गठन गर्दै अध्यक्षमा बरुनाथ योगीलाई चयन गरेको थियो भने सपथग्रहण प्रदेश कमिटी सदस्य टेकबहादुर खाँडले गराउनुभएको थियो ।

एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा बिहीवार बसेका २७ औँ सचिवालय बैठकले पार्टी एकता विरोधी गतिविधिमा संलग्न रहेको भन्दै १५ जना जनप्रतिनिधिलाई तीन दिने स्पष्टीकरण सोधेको हो । नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, चामुण्डाविन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही नारायण नगरपालिका-१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ, नौमूले गाउँपालिका-४ का वडाध्यक्ष गजबहादुर ढेंगा, भगवतीमाई गाउँपालिका-२ का वडाध्यक्ष कर्णबहादुर शाही, भगवतीमाई गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर शाही, आठबीस नगरपालिका-५ का वडाध्यक्ष कर्ण आले, डुंगेश्वर गाउँपालिका(२ का वडाध्यक्ष राजु केसी, नौमूले गाउँपालिका गाउँ सभा सदस्य दीपक हमाल, गुराँस गाउँपालिका गाउँ सभा सदस्य पशुपती शर्मा, नारायण नगरपालिका नगर सभा सदस्य हर्कबहादुर नेपाली, नमराज शाही र रमेश केसीलाई तीन दिन भित्र स्पष्टीकरण सोधिएको छ ।

यस्तै नेकपा एमाले जिल्ला कमिटी दैलेखका उपसचिव तिलकप्रसाद रिजाल, सचिवालय सदस्य मानबहादुर खड्का, जिल्ला कमिटी सदस्य भीमबहादुर गुरुङ, गुराँस गाउँ कमिटि सदस्य भुपेन्द्र खड्का र नेता गोकर्ण माझी, राष्ट्रिय युवा संघका उपेन्द्र शाही, अनेरास्वबियू दैलेखका अध्यक्ष हेमन्त दसौदी, अनेरास्वबियू केन्द्रीय लेखा आयोगका सदस्य भुपेन्द्र शाही, राष्ट्रिय युवा संघका सदस्य अशोक थापा, टोपबहादुर थापा र धिरज कार्कीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश कमिटीमा रहेका टेकबहादुर खाँड, बरुनाथ योगी, सावित्री मल्ल, मयाराम अधिकारीलाई आवश्यक कारबाहीका लागि एमाले कर्णाली प्रदेश कमिटीमा सिफारिस गरिएको छ । ‘उहाँहरुले चित्तबुझ्दो जवाफ नदिए पार्टी कारवाही गर्न अघि बढ्छ,’ अध्यक्ष शर्मा भन्नुहुन्छ ‘पार्टी हित विपरित जाने कोही कसैलाई पनि हामी दलको विधान अनुसार कारवाही गर्छौं ।’