१९ बैशाख २०७८, आईतबार ००:००

सूचना प्रविधिको विकाससँगै हुनसक्ने दुरुपयोगलाई पनि रोक्न सक्नुपर्छ : प्रधानमन्त्री


काठमाडौं, १९ बैशाख । आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ मनाइँदै छ ।नेपाल सरकारले समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार भन्ने नाराका साथ यो वर्षको दिवस मनाउँदै छ।सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धन गर्न हरेक वर्ष मे २ तारिखमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यो दिवसले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहयोग गर्ने बताउनुभयो।उहाँले डिजिटल पूर्वाधार तथा प्रविधिको विकास र विस्तार गरी अर्थतन्त्रमा सञ्चार तथा सूचना प्रविधिको योगदान बढाउन र सुशासन, समृद्धि र विकासका लागि सरकारले डिजिटल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको बताउनुभयो । कोरोना महामारीको समयमा सूचना प्रविधिको माध्यमबाट सचेतना जगाउने कार्यमा सफलता प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको बढ्दो प्रयोग, निरन्तर विकास, विस्तार एवं गतिशीलताबाट प्राप्त अवसरहरुलाई सदुपयोग गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सूचना प्रविधिको विकाससँगै हुनसक्ने दुरुपयोगलाई पनि रोक्न सक्नुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले साइबर सुरक्षा तथा सरकारी तथ्याङ्कको सुरक्षासम्बन्धी विषयमा ध्यान केन्द्रीत हुन आवश्यक रहेको बताउनुभयो ।डिजिटल प्रविधिको प्रयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी अर्थतन्त्रको बृहत्तर आयामहरुको रुपान्तरण गर्न, विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्न, प्रविधिको प्रयोगलाई विश्वसनीय बनाउन सम्बन्धित पक्षलाई ओलीको आग्रह छ ।उहाँले नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रुपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।