जनता टाइम्स

१९ बैशाख २०७८, आईतवार १६:१०

राष्ट्र बैंकले लियो एक्सन, बैंकहरुलाई दियो यस्तो निर्देशन


काठमाडौं, बैशाख १९

काठमाडौं उपत्यका निषेधाज्ञा लागू भएको ५ औं दिन आज पनि राजधानीमा आवतजावत भैरहेको भन्दै नेपाल राष्ट्र बैंकले एक्सन लिएको छ । कोरोना भाइरसको दोस्रो भेरियन्ट महामारी फैलिएसँगै राष्ट्र बैंकले सबै बैंकहरुलाई कर्मचारी घटाउन निर्देशन दिएको हो । दैनिक रुपमा बढ्दो संक्रमण पुष्टि भएसँगै नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक वित्तिय संस्थाको केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी राखेर काम गर्न निर्देशन दिएको हो ।

हिजो मात्रै नेपालमा अहिलेसम्मकै उच्च ५ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको थियो । परीक्षण गरीएको संक्रमित मध्ये ४० प्रतिशतमा पोजेटिभ रिपोर्ट आएपछि सरकारले आजै मन्त्रिपरिषद बैठक राखेर थप निर्णय लिने भएको छ । राष्ट्र बैंकले बैंकका शाखा कार्यालयहरुमा संभवभएसम्म २५ प्रतिसत कर्मचारी राखेर संचालन गर्न निर्देशन दिएको हो । शाखा कार्यालयको हकमा २५ प्रतिसत कर्मचारी संभव नहुने बैंकर्स संघले जनाएको छ ।

कुनै शाखामा ५ जना कर्मचारी हुने र त्यसको २५% भनेको १ जना कर्मचारी हुने हुँदा उक्त शाखा चलाउन संभव नहुने संघका अध्यक्ष भुवन दाहालले बताउनुभयो । यता राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक देवकुमार ढकालले संक्रमितको संख्या बढेपछि घरमै बसेर डिजिटल कारोवार गर्न आग्रह गरिएको बताउनुभयो । त्यस्तै उहाँले नजिकै रहेका दुईमध्ये एक शाखामात्रै संचालन गर्न आग्रह गरिएको सुनाउनुभयो । अहिले बैंकहरुले विहान १० बजेदेखी २ बजेसम्म सेवा दिँदै आएका छन् ।