जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार १६:५४

जनताको पक्षमा बुटवल उपमहानगरको उत्कृष्ट काम : सुरू गर्‍यो निःशुल्क अक्सिजन सेवा


रुपन्देही, बैशाख २१ । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरू गरेको छ। आज उपमहानगरपालिकामा आयोजित संक्षिप्त कार्यक्रमबीच उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अक्सिजन सेवा बैंकको शुभारम्भ गर्नुभएको हो । मेयर सुवेदीका अनुसार बुटवलका सामुदायिक आइसोलेसन, होटल तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्नेछ।

उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिन्डर, सिलिन्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेसनबाट सूचना आउँदा साथ परिचालन हुने गरी व्यवस्था मिलाइएको प्रमुख सुवेदीले जानकारी दिनुभयो। घरघरमै रहेका संक्रमितलाई अक्सिजनको आवश्यकता देखिएपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पुर्‍याउने गरी नयाँ व्यवस्था गरिएको हो। पहिलो चरणमा एक सय थान सिलिन्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ।

होम आइसोलेसनमा रहेकाको परीक्षण, नियमित स्वास्थ्य जानकारी लिएर आइसोलेसनमा रहेका संक्रमितलाई तत्कालै अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ। उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत् स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिन्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो।

सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको हो। उक्त कार्यदलमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, औषधि व्यवसायी संघका सुरज भट्टराई, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लायन्स क्लब एरिया ४ का सन्दीप कसौधनलगायत रहनु भएको छ । उपप्रमुख आचार्यका अनुसार अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलव्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको छ ।

उपमहानगरपालिकाले होम आइसोलेसनमा बसेकाहरूले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन अपीलसमेत गरेको छ। संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिन्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताउनु भयो ।