जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार १८:४६

माओवादीबाट निर्वाचित मेयर कुसवाहको ठोकुवा : प्रचण्डसँग अव कोही बस्न सक्दैनन


काठमाडौं, बैशाख २१ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित रौतहटको कटहरीया नगरपालिकाका मेयर सियाराम कुसवाहले पुष्पकमल दाहाल, प्रचण्डसँग अव कोही पनि बस्न नसक्ने ठोकुवा गर्नुभएको छ । नेकपा एमालेमा लागेको भन्दै माओवादी केन्द्रले मेयर सियारामसहित रौतहटका स्थानीय जनप्रतिनिधिलाई कारबाही गरेपछि उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले बस्नै नसक्ने भएपछि आफूहरुले प्रचण्डको साथ छोडेको प्रष्ट पार्नुभयो ।

‘पुष्पकमल दाहाल प्रचण्डसँग अब कोही बस्न सक्दैन, अहिले सँगै भएकाहरुले पनि साथ छोड्दै जान्छन,’ प्रचण्डसँग बस्न नसक्नुको कारण बताउँदै मेयर कुसवाहले भन्नुभयो, ‘सबथोक मै मात्र हूँ भन्ने अंहकार प्रचण्डमा छ, स्थिरता र जुट होइन, फुट र अस्थिरता उहाँको एजेण्डा नै बनेको छ, पदमा मात्रै ध्यान छ, त्यसैले अब उहाँसँग कोही बस्न सक्दैनन, बसेकाले पनि विस्तारै साथ छोड्दै छन् ।’ प्रचण्डको खराब बानीकै कारण आफ्नै गुरु भन्नेहरुले पनि छाडेर गएको उहाँको भनाई छ । ‘तपाईसँग को बस्न चाहान्छ ? तपाईं कसैको भलो चाहानुहुन्न, देशको विकास चाहानुहुन्न, सबैको दुरगति होस भन्ने मात्र चाहानुहुन्छ, त्यसैले त तपाईंलाई काँधमा बोक्नेहरुले समेत छोडेर गए,’ प्रचण्डलाई प्रश्न गर्दै कुसवाह भन्नुहुन्छ ।

माओवादीबाट चुनाव जितेर कटहरीयाको मेयर बन्नुभएका कुसवाहले एमालेमा भविष्य देखेर गएको प्रष्ट पार्नुभयो । ‘एमालेमा भविष्य देखेँ, माओवादी छोडेँ मैले के बिराएँ ?’ मेयर कुसवाहको भनाई थियो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली देश बनाउने नेता भएकाले उहाँको पक्षमा उभिएको बताउनुभयो । ‘शान्ति, स्थायित्व, विकास र समृद्धि ल्याउने नेताको पक्षमा म उभिएको हूँ, सत्ताका लागि जे मन लाग्छ त्यो गर्नु राम्रो होइन, प्रचण्ड सत्ताको खेलमा लाग्नुभयो, ओली देश बनाउने अभियानमा हुनुहुन्छ, त्यसैले ओलीलाई साथ दियौं,’ आफ्नो निश्कर्ष सुनाउँदै कुसवाहले भन्नुभयो ।

पुष्पकमल दाहाल प्रचण्डसँग अब कोही बस्न सक्दैन, अहिले सँगै भएकाहरुले पनि साथ छोड्दै जान्छन,’ प्रचण्डसँग बस्न नसक्नुको कारण बताउँदै मेयर कुसवाहले भन्नुभयो, ‘सबथोक मै मात्र हूँ भन्ने अंहकार प्रचण्डमा छ, स्थिरता र जुट होइन, फुट र अस्थिरता उहाँको एजेण्डा नै बनेको छ, पदमा मात्रै ध्यान छ, त्यसैले अब उहाँसँग कोही बस्न सक्दैनन, बसेकाले पनि विस्तारै साथ छोड्दै छन्

जनताले आफूहरुको पार्टीलाई भन्दा पनि व्यक्तिगत छविलाई भोट दिएको उहाँले बताउनुभयो । रौतहटकै भएपनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जिल्लाका लागि केही नगर्नुभएको तर वर्तमान मन्त्री प्रभु साहले धेरै काम गर्नुभएको उहाँले बताउनुभयो । जनतामा कसको लोकप्रियता कति छ भन्ने जाँच्नका लागि प्रभु साहसँग चुनाव लड्न प्रचण्डलाई उहाँले चुनौतीसमेत दिनुभयो । ‘प्रचण्डजी आएर लडेपनि प्रभु साहलाई हराउन सक्नुहुन्न, त्यति विश्वास जितेको मान्छे हो उहाँ,’ कुसवाहले भन्नुभयो । मेयर कुसवाहले गणतन्त्रको गीत गाएर जनतालाई भ्रममा नपार्न पनि प्रचण्डलाई सुझाव दिनुभयो । ‘तपाईं एक्लैले गणतन्त्र ल्याएको होइन, त्यसमा हामीजस्ता धेरै नेताहरुको भूमिका छ भन्ने पनि हेक्का राख्नुस,’ प्रचण्डलाई मेयर कुसवाहको सुझाव छ ।