जनता टाइम्स

२२ बैशाख २०७८, बुधबार ०९:०३

गलत सूचना तथा अफवाहले समाजमा पार्ने असहज वातावरण रोक्न सही सूचना प्रवाह हुनुपर्छ : प्रधानमन्त्री


काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत सूचना तथा अफवाहले समाजमा पार्ने असहज वातावरण रोक्न सही सूचना प्रवाह हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको १४ औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै उहाँले उज्यालो र अँध्यारोबीचको भिन्नताले वातावरणमा ल्याउने प्रभाव जस्तै सही सूचना प्रवाह हुँदा र नहुँदा सामाजिक जीवनमा पार्ने प्रभाव त्यस्तै रहने बताउनुभयो । प्रधानमन्त्री ओलीले संवैधानिक तथा कानूनी व्यवस्था अनुसार कार्यान्वयनमा आएको सूचनाको हकको सफल कार्यान्वयनबाट लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई सचेत बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण सङक्रमण रोक्न निषेधाज्ञा र स्वास्थ्यका मापदण्ड पालनामा केन्द्रित हुनुपरेको भन्दै उहाँले सही, सत्यतथ्य र आधिकारिक सूचना प्रवाह गर्न र मापदण्डको पालना गर्न÷गराउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोग कोरोना महामारीका बीच पनि निरन्तर सूचनाको हक प्रचलन गर्नरगराउन प्रयासरत रहेको बताउनुभएको छ । २०६५ साल बैशाख २२ गते राष्ट्रिय सूचना आयोगको गठन भएको हो ।