जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार २१:२४

स्वीटजरल्याण्डको जेनेभामा प्रधानमन्त्री ओली, भोलि आइएलओमा सम्बोधन


काठमाडौं, जेठ २६

युरोपियन मुलुकको भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्वीटजरल्याण्डको जेनेभा पुग्नुभएको छ । आज अपरान्ह कतारको दोहाबाट त्यसतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली केही बेरअघि स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएको हो ।

प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तराराष्ट्रिय श्रम संगठन ( आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुग्नुभएको हो । प्रधानमन्त्री ओलीले भोली जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यत्रम रहेको छ । प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय श्रम संगठनसँगको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नु परिरहेको चुनौती तथा नेपालले नयाँ संविधान अन्तर्गत श्रम सम्बन्धमा अपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा अन्तराष्ट्रिय समुदायलाई प्रष्ट पार्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ । स्वीट्जरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि नै बेलायत प्रस्थान गर्नुहुने कार्यक्रम छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्नुहुनेछ । बेलायतमा रहँदा प्रधानमन्त्री ओली र उहाँका समकक्षी लगायतसँग उच्चस्तरीय भेटवार्ता हुनेछ । बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ ।

बेलायत भ्रमणको क्रममा नेपालका युगौँ पुरानो सम्बन्धबारे सिंहावलोकन गर्नुका साथै सम्बन्धलाई नयाँ उचाइमा लग्ने भन्ने विषयमा केही समझदारीहरू हुने परराष्ट्रका अधिकारीहरुले बताएका छन । त्यस्तै बेलायतमा कार्यरत ब्रिटिस गोरखा सैनिकको विषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने छ । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र र श्रम सचिव लगायत हुनुहुन्छ । प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ ।