जनता टाइम्स

२३ बैशाख २०७८, बिहीबार ११:४४

प्रदेश-१ मा फ्रन्टलाइनमा खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ता


बिराटनगर, बैशाख २३ । प्रदेश १ सरकारले कोरोना भाइरसबिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर जिम्मेबारी निभाउने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मीलगायतलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले फ्रन्टलाइन कर्मचारीलाई सुरु तलव स्केलको ५० प्रतिशत उपलब्ध गराउने निर्णय गरेको हो । त्यसबाहेक उनीहरु संक्रमित भएको अवस्थामा होम आइसोलेसनमा बस्न असहज भएमा वा सम्भव नभएमा होटल आइसोलेसनको व्यवस्था गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।
बैठकले प्रदेश सरकारबाट नियुक्ति लिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीहरु संक्रमित भई निधन भएमा सम्बन्धितको परिवारलाई संघीय सरकारले प्रदान गर्ने क्षतिपूर्तिमा नदोहो¥याई २५ लाख रुपैयाँ प्रदान गरिने निर्णय पनि भएको छ ।

कोशी कोभिड अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीका लागि होटल क्वारेन्टाइनको व्यवस्था गरिने तथा चालक, सफाइकर्मी र कार्यालय सहयोगीलाई प्रदेश सरकारले प्रवन्ध गरेको खानारखाजासहित क्वारेन्टाइन वा होटल क्वारेन्टाइनको बन्दोबस्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । विराटनगरको कोशी कोभिड अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला तथा प्रदेश सरकार मातहतका सम्पूर्ण कोभिड अस्पतालमा खटिने जनशक्तिका लागि मात्र यो सुविधा निर्धारण गरिएको प्रदेश सरकारले जनाएको छ ।