जनता टाइम्स

२५ बैशाख २०७८, शनिबार १४:३३

कोरोना रोकथामका लागि नेपाललाई स्वास्थ्य सामाग्री चाँडै आपूर्ति गर्ने चीनको घोषणा


काठमाडौं, बैशाख २५ । छिमेकी मित्रराष्ट्र चीनले कोरोना भाइरस महामारी रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति चाँडै गर्ने प्रष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयले शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले कोरोना महामारीविरुद्ध नेपाललाई सक्दो सबै सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

‘कोभिड महामारीविरुद्ध नेपाललाई चाहिने सबै स्वास्थ्य सामाग्री संकलन भएको छ र हामी चाँडै आपूर्ति गर्न तयार छौं’ प्रवक्ता वाङले भन्नुभयो । नेपालमा दैनिक संक्रमण संख्या उचाइमा पुगेको र अवस्था भयावहतर्फ उन्मुख भएको परिस्थितीमा हुने चिनियाँ सहयोगबारे प्रवक्ता वाङलाई प्रश्न सोधिएको थियो ।

उहाँले छिमेकी र रणनीतिक साझेदार मित्रको हैसियतले चीन र नेपालले सहकार्यको हात अघि बढाएको र महामारी सुरु भएयता दुई मुलुकबीच मित्रताको नयाँ अध्याय सुरु भएको जानकारी पनि दिनुभयो । कोरोनाको दोस्रो लहरका कारण नेपालमा सिर्जिएको स्वास्थ्य संकटबारे चीन जानकार रहेको र आवश्यक सहयोग गर्न तयार रहेको समेत प्रवक्ता वाङले प्रष्ट पार्नुभयो ।

नेपालसहितका चार दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुको गत हप्ता आयोजित भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । ‘हामी विश्वास गर्छौं कि नेपाली जनताको नेतृत्व र दलहरुको संयुक्त पहलमा नेपाल महामारीबाट मुक्त हुनेछ र सामान्य अवस्थामा फर्कनेछ’ वाङले भन्नुभयो ।