काठमाडौ, वैशाख २६ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीलाई सरकारबाट हटाउने निर्णय जसपाले नगरेको जानकारी कांग्रेस सभापति शेरबहादुर देउवालाई दिनुभएको छ । वरिष्ठ नेता राजेन्द्र महतोसहित आज बूढानीलकण्ठ पुगेर ठाकुरले जसपाको भर परेर कुनै निर्णय नलिन सुझाव दिएको ठाकुरनिकट स्रोतले जनाएको छ ।
ठाकुरले बाबुराम र उपेन्द्र यादवको निर्णय पार्टीको नभई व्यक्तिगत भएको समेत बताउनुभएको छ ।स्रोतले भन्यो, ‘उपेन्द्रजीले गरेको निर्णय उहाँको व्यक्तिगत हो । जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय लिएको छैन । तपाईं अविश्वास प्रस्तावतर्फ जान लाग्नुभएको हो भने हाम्रो अहिले त्यसमा समर्थन छैन ।’ अध्यक्ष ठाकुरनिकट जसपा नेता डा. सुरेन्द्र झाले जसपाले आधिकारिक निर्णय नगरिसकेकोले केही नेताहरूको धारणालाई मात्रै विश्वास नगर्न देउवालाई आग्रह गरिएको बताउनुभयो ।
एमाले विभाजित भएको अवस्थामा जसपाको मत निर्णायक नहुने भएकोले तटस्थ बस्ने सम्भावना रहेको झाले बताउनुभयो । ठाकुर र महतोले आफूहरूबीच कुनै विवाद नभएको र उपेन्द्र–बाबुराम पक्षले खटपटको खबर बाहिर प्रचार गराएको देउवालाई बताउनुभएको छ । ठाकुर र महतोले पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा आफूहरू बहुमतमा रहेकाले पार्टीको निर्णय नहुन्जेल जसपाको भर परेर कुनै निर्णयमा नपुग्न देउवालाई सुझाएका स्रोतले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्