जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार २०:२०

संविधानविद भीमार्जुन आचार्यको ठोकुवा : संबिधानअनुसार फेरि पनि ओली नै प्रधानमन्त्री


काठमाडौं, बैशाख २७ । संविधानविद भिमार्जुन आचार्यले फेरि पनि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने ठोकुवा गर्नुभएको छ । संसदमा बिश्वासको मत प्राप्न हुन नसकेलगत्तै मिडियामा आफ्नो धारणा राख्दै आचार्यले संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठित बर्तमान सरकारले बहुमत गुमाएको अवस्थामा अब फेरि यही प्रक्रिया सुरु नहुने भएकाले सवैभन्दा ठूलो दलको हैसियतमा एमाले अध्यक्ष ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुने ठोकुवा गर्नुभएको हो ।

संविधानविद आचार्यका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएको अवस्थामा मात्रै धारा ७६ (२) कै प्रक्रिया सुरु हुन्छ । तर, प्रधानमन्त्री ओलीले राजीनामा नदिएको अवस्थामाचाहिँ राष्ट्रपतिको निर्णय नै निर्णायक हुनेछ । संबिधान भन्दा बाहिर नजाने राष्ट्रपति बिद्यादेवी भण्डारीको बिगतदेखिकै अडानअनुसार अव संबिधानको धारा ७६ को उपधारा ३ मै जाने बिश्वास गरिएको छ । संसदमा विश्वासको मत नपाएको अवस्थामा प्रधानमन्त्री पदमुक्त त हुन्छन् । तर, अर्को सरकार नबनेसम्म कामचलाउ प्रधानमन्त्री रहन्छन् । र, त्यसपछि ७६ (३) को सरकारका लागि आह्वान गर्नुपर्छ । तर, ७६ (३) अनुसार सरकार गठन हुँदा पनि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

धारा ७६ (३) अनुसार विश्वासको मत नपाए भने ७६ (५) मा जानुपर्छ । ७६ (५) मा जाँदा पनि एकपटक ७६ (२) मै फर्कनुपर्ने पनि हुन सक्ने आचार्यको भनाई छ । त्यो भनेको एकपटक फेरि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत पुर्याउने अवसर दिनु हो । त्यस्तो अवस्था आएको खण्डमा ती दलहरु मिलेर नै सरकार बनाउने हो । ‘तर, विश्वासको मतको सामना गरेको अवस्थामा ७६ (२) पूरा भएको मानिने भएकाले ७६ (३) मा जानुपर्ने हुन्छ । प्रधानमन्त्रीले राजीनामा नै दिएनन् भनेचाहिँ ७६ (२) सकियो र ७६ (३) र ७६ (५) बाँकी रहने भयो,’ आचार्यको भनाई छ ।