जनता टाइम्स

२८ बैशाख २०७८, मंगलवार १५:२९

गण्डकीमा कांग्रेस-माओवादी प्रयाश असफल, कांग्रेसलाई साथ दिन नसक्ने जनमोर्चा नेता थापाको घोषणा


कास्की, बैशाख २८

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समय आज सकिँएको छ । कांग्रेस–माओवादीसहित चार दलले सरकार बनाउन नसकेपछि पुन गुरुङ नै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेपछि प्रदेशमा चार दलको गठबन्धन सरकार बनाउने प्रयास असफल भएको हो । गण्डकीमा राजमोका ३ जना सांसद छन् । अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो ।

राजमोकी सचेतक पियारी थापाले हिजो पार्टीको ह्वीप जारी गरे पनि दलका नेता थापाले ह्वीपको अर्थ नभएको बताउनुभयो । उहाँले बागलुङको राजनीति फरक रहेको र कांग्रेसलाई साथ दिन नसकिने बताउनुभएको हो ।