काठमाडौं, बैशाख ३० । नेकपा एमालेका नेता गोकर्ण विष्टले माधवकुमार नेपालसहित चार नेतामाथिको कारबाही फुकुवाको निर्णयलाई पार्टी एकताका लागि सकारात्मक कदम रहेको टिप्पणी गर्नुभएको छ । निलम्बन फिर्ताले संवाद र एकताको वातावरण तयार भएको विष्टको निश्कर्ष छ ।
‘यो निर्णयबाट संवाद र एकताको वातावरण सकारात्मक दिशामा जाला भन्ने आशा गर्न सकिन्छ, त्यसैले यो एक हदसम्म सकारात्मक छ’, पूर्वमन्त्रीसमेत रहनुभएका नेता विष्टले भन्नुुभयो, ‘हाम्रो माग भनेको पार्टीको पूरा प्रणाली जेठ २ मा फर्किनु पर्छ भन्ने हो, त्यसको लागि वातावरण तयार भएको छ ।’ नेता बिष्टले आफूहरुको उद्देश्य सामूहिक राजीनामा नभएको पनि प्रष्ट पार्नुभयो । ‘सामूहिक राजीनामा हाम्रो माग र उद्देश्य केही पनि होइन, हामी सुदृढ पार्टी चाहन्छौं,’ बिष्टले भन्नुभयो ।
आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलमाथि गरिएको निलम्बनको कार्वाही फुकुवा गरेको थियो । स्थायी कमिटीको उक्त निर्णयले पार्टीलाई एकढिक्का बनाउन उर्जा दिने विष्टको भनाई छ । ‘यो एकतावद्ध एमालेका लागि भएको एक प्रयास हो, यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनु पर्छ,’ बिष्टले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्