जनता टाइम्स

३० बैशाख २०७८, बिहीबार १४:५१

सरकार बनाउने कांग्रेस-माओवादीको खेल बिफल : महन्थद्वारा देउवाको प्रस्ताव ठाडै अस्वीकार


काठमाडौं, बैशाख ३०

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले ठाडै अस्वीकार गर्नुभएको हो ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने प्रस्ताव अश्वीकार गर्नुभएको हो । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा अध्यक्ष ठाकुरले समर्थन जनाउन नसक्ने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । ठाकुरनिकट स्रोतका अनुसार देउवाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो नेतृत्वको सरकार गठनमा सघाउन आग्रह गर्नुभएको थियो ।

तर, ठाकुरले यसअघि नै आफूले भनिसकेको भन्दै जसपाको भर नपर्न देउवालाई सुझाव दिनुभएको छ । जसपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै जसपा फुटाउने प्रयास नगर्न आग्रह समेत गरेको पाइएको हो ।