जनता टाइम्स

३१ बैशाख २०७८, शुक्रबार १९:३३

पदबहालीपछि बनमन्त्री आलेको निर्देशन : कोरोना महामारी रोकथाममा तत्कालै जुटनोस


काठमाडौं, बैशाख ३१ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका काममा तत्काल जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री आलेले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट खटिनुपर्ने बताउनुभयो । ‘कोरोनाले नागरिकहरु दिनहुँ मर्न थालेका छन, हामीले कोरोना नियन्त्रण तथा रोकथाम गर्नमा जे जस्तो सक्छौँ, तत्काल जनशक्ति त्यसैमा लगाउनुस, बाँकी काम गर्दै गरौंला,’ मन्त्री आलेले भन्नुभयो । उहाँले कोरोना रोकथाम र नियन्त्रणमा वन मन्त्रालयमातहतका सबै साधन स्रोतको परिचालन गर्नसमेत निर्देशन दिनुभयो ।

कोरोना संक्रमणले नागरिकको मृत्युपश्चात जलाउनका लागि पशुपति क्षेत्रमा दिनहुँ ठूलो संख्यामा शवहरु आइरहेकाले जलाउनका लागि दाउराको कमी हुन नदिन पनि उहाँले निर्देशन दिनुभयो । सबै कर्मचारीले आफ्नो क्षेत्रबाट एक ढिक्का भएर नागरिकलाई सेवा दिन तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने गरी विकासका काम गर्न मन्त्री आलेले निर्देशन दिनुभयो । निर्देशनकै क्रममा मन्त्री आलेले महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन पनि सवैको ध्यानाकर्षण गराउनु भयो ।