जनता टाइम्स

२ जेष्ठ २०७८, आईतवार १७:२७

सूर्य थापालाई प्रचण्डको नामबाटै श्रद्धाञ्जली दिएपछि



काठमाडौं, जेठ २ । एमाले नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना संक्रमित भई आइसोलेशनमा रहेको बेला माओवादी अध्यक्ष प्रचण्ड निकट ब्यक्तिहरुबाट आफूबिरुद्ध हदैसम्मको निकृष्ट काम भएको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।

प्रेस सल्लाहकार थापाले दुई घटनालाई प्रस्तुत गर्दै आपत्ति जनाउनुका साथै तर्क र तथ्यका आधारमा बहशमा आउन चुनौती पनि दिनुभएको छ । युगपुरुष प्रचण्ड नामक फेसबुक पेजबाट थापालाई श्रद्धाञ्जली दिने काम भएपछि उहाँले आइसोलेशनबाटै प्रतिवाद गर्नुभएको हो । यस्तै अर्का युवा नेता तथा सांसद महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर आफ्नो स्टाटस जस्तैगरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको भन्दै कार्वाहीको माग गर्नुभएको छ ।

यस्तो छ थापाको चुनौती

म आइसोलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । ‘युगपुरूष प्रचण्ड’ नामक ग्रुपबाट नै म जिंउँदो मान्छेलाई दुष्ट नियतका साथ ‘श्रद्धाञ्जलि’ नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य झनै छर्लङ्ग भएको छ । बैशाख २७ गते र आज माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटस जस्तैगरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न म चुनौति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु ।