जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १४:२३

काठ अभावले ‘सिजनिङ’ र ‘ट्रिटमेन्ट प्लान्ट’ चल्न सकेन


चितवन, जेठ २७

द टिम्बर कर्पोरेशन नेपाल लिमिटेडको भरतपुर कार्यालय परिसरमा निर्माण गरिएको ‘सिजनिङ’ र ‘ट्रिटमेन्ट प्लान्ट’ काठको अभाव र यसको महत्व बुझाउन नसक्दा प्रयोगविहीन बनेको छ । नेपालमानै पहिलो पटक सरकारी तवरबाट यो प्लान्ट स्थापना गरिएको हो । कर्पोरेशनले नेपाल सरकारको रु दुई करोड ५० लाख अनुदान लिएर निर्माण गरी विसं २०७५ फागुन महिनाबाट सञ्चालनमा ल्याएको थियो ।

सो प्लान्ट अहिले आवश्यक काठ प्राप्त गर्न नसक्दा र यसबाट उत्पादित काठले बजार नपाउँदा बन्द अवस्थामा रहेको छ । जिल्लामा काठको माग बढ्ने तर यसबाट उत्पादित काठको प्रयोग गर्ने सेवाग्राही नहुँदा समस्या आएको कार्यालयका निमित्त प्रमुख हिमलाल बरालले जानकारी दिनुभयो । यस क्षेत्रमा सालको काठ पाइने भएपछि प्रशोधित काठ भन्दा साल तर्फ सर्वसाधारण आकर्षित भएको देखिन्छ ।

बरालका अनुसार यस प्लान्टले सिसौ, टिक, करना, सल्लो, असना जस्ता काठलाई प्रशोधन गरी सुकाएर सालको काठ जस्तै बलियो बनाउँछ । प्रशोधन गरिएको काठ धमिरा लाग्ने र पसाङ्गीने समस्याबाटमुक्त हुन्छ । यहाँ सालको काठ प्रति क्युफिट रु तीन हजार ८०० पर्दछ भने प्रशोधन भएको काठ रु दुई हजार देखि रु दुई हजार ४०० सम्म पर्ने बरालले बताउनुभयो ।

मूल्य सस्तो पर्ने भए पनि सर्वसाधारणमा जनचेतनाको अभावमा काठ बिक्री हुनसकेको छैन । कार्यालयले परीक्षणपछि एक हजार ४०० क्युफिट प्रशोधन गरेकोमा तीन सय क्युफिट बिक्री भएको छ । सञ्चालनमा आए लगत्तै दश पटक ‘ट्रिटमेन्ट’ र दुई पटक ‘सिजनिङ’ को काम गरेपछि अहिले सो प्लान्ट सञ्चालनमा आउन सकेको छैन । यस प्लान्टले एक पटकमा सिजनिङ् गर्दा १० दिनमा सात सय क्यूफिट र ट्रिटमेन्ट गर्दा चार घण्टामा दुई सय क्यूफिट काठ उत्पादन गर्ने क्षमता राख्दछ ।

एकवर्ष अगाडि नरम जातका काठलाई सिजनिङ र ट्रिटमेन्ट गरी गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित सरकारीस्तरबाट नेपालमा पहिलो पटक निर्माण गरिएको हो । बरालका अनुसार यस क्षेत्रमा प्रशोधन गर्ने काठको पनि अभाव रहेको छ । अहिले काठ आयात र बजार व्यवस्थापनका लागि कार्यालयले गृहकार्य शुरु गरेको छ । जनस्तरमा सिजनिङ र ट्रिटमेन्ट गरिएका काठको फाइदाको बारेमा जानकारी गराउन सकेमा मात्रै प्लान्टको उत्पादनले काम गर्ने उहाँको भनाइ थियो ।