जनता टाइम्स

३ जेष्ठ २०७८, सोमबार १९:१२

कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा दिन मन्त्री गुरुङको निर्देशन


काठमाडौं, जेठ ३

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकारवाला सबैलाई आग्रह गर्नु भएको छ । कोभिड संकट समाधानका लागि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवा प्रवाह अति आवश्यक भएकाले पनि दूरसञ्चार सेवाको कामलाई भरपर्दो, जिम्मेवार, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने आवश्यक्ता रहेको मन्त्री गुरुङको भनाई छ ।

‘विश्व दूरसञ्चार तथा सूूचना समाज दिवस’ को अवसर पारेर नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उहाँले कोभिडबाट आफू सुरक्षित भएर दूर सञ्चार सेवा प्रवाहको काममा प्रतिवद्ध भएर लाग्न पनि यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघ, संस्थालाई आह्वान गर्नुभयो ।

‘सुरक्षित रहौं, स्वस्थ रहौं, आफू सुरक्षित भएर कोभिड संकटको सारथी बनेर दूरसञ्चार सेवा प्रदायकहरुले आ–आफ्नो ठाउँबाट सेवा प्रवाहको कामलाई अघि बढाऔं’ मन्त्री गुरुङले भन्नुभयो, ‘कोभिड संकट समाधानका लागि गर्ने हरेक प्रयास मानवीय सेवा भएकाले यसमा शुुद्ध मन, बचन र कर्मले लागौं ।’ दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन सरकार ऐन, कानुन, नीति, नियम परिमार्जन गरेर अघि बढन तयार रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक सुुझाव दिन पनि विज्ञहरुलाई पटक–पटक आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले नेपाल दूरसञ्चार क्षेत्रमा विश्वमा भएको विकाससँगसँगै अघि बढ्न प्रयत्नशील रहेको पनि स्मरण गराउनुभयो । दूरसञ्चार क्षेत्रमा भएका प्रगति, यसले भोग्नु परेका चुनौतिको सामना गर्नेगरी नेपालमा यसको प्रभावकारी सेवा प्रवाहको कामलाई अघि बढाउने गरी सोच, संकल्प र योजना बनाएको मन्त्री गुरुङको भनाई छ ।

उहाँले दूरसञ्चार सेवासहितको सूचना र प्रविधिको विकास गरी मुलुकलाई समृद्ध बनाउन सरकारले नीति, ऐन, कानुन तर्जुमा गरेको उल्लेख गर्दै त्यसलाई आवश्यक्ता अनुसार परिमार्जन गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायतले कोभिड संकट समाधान हुने गरी दूरसञ्चार क्षेत्रको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभएको थियो ।