जनता टाइम्स

४ जेष्ठ २०७८, मंगलवार १२:४३

विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान, युवकको मृत्यु, चार गम्भीर


जलेश्वर, जेठ ४

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

नातामा मामा-भान्जा रहेका स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइन दुवैको जग्गाको बीचमा आज शौचालय निर्माणसम्बन्धी विवाद हुँदा दुवै पक्षबाट बाँसको लाठी र चिर्पट हानाहान भएको थियो । लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उहाँको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उहाँको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोही घटनामा परी मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते हुनुभएको छ । यता जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले घटनास्थललाई शान्त पारेको छ भने घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई पक्राउ गरेको गरी अनुसन्धान थालेको छ ।