जनता टाइम्स

८ जेष्ठ २०७८, शनिबार १०:३४

माधवसहित अक्षम्य अपराध गर्नेहरुमाथि तत्कालै कार्वाही हुनुपर्छ : राजेन्द्र गौतम


काठमाडौं, जेठ ८ । नेकपा एमालेका नेता राजेन्द्र गौतमले तत्काल केन्द्रीय कमिटीको वैठकको बसेर छानबिन तथा कार्यवाहीको प्रक्रिया अगाडि वढाउन माग गर्नुभएको छ ।

एमाले नेता माधवकुमार नेपालले पाँच अक्षम्य अपराध गरेको भन्दै एमाले प्रदेश १ का सहइञ्चार्ज गौतमले कार्वाहीको माग गर्नुभएको हो । उहाँले नेपालले गरेको पाँच अक्षम्य अपराधको बिवरण राख्दै नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढालेर जनमतविपरित नेपाली काँग्रेसको गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न गरेका अपराधहरूको भत्सर्ना गर्न पनि प्रस्ताव गर्नुभएको छ ।

यस्तो छ गौतमको धारणा

नेकपा (एमाले) को केन्द्रीय कमिटीको वैठकको माग, तत्काल छानबिन गरी कार्यवाहीको प्रक्रिया अगाडि वढाऔं।

पाँच अक्षम्य अपराधहरू

१. कर्णाली प्रदेशमा फ्लोरक्रसको निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताको अन्त्य र प्रचण्डको हितमा सहयोग ।

२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरूद्द गठबन्धन निर्माणमा गोप्य साँठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दृगराज पाण्डे र अमरबहादुर डाँगीको बिक्री तथा रहस्यमय राजिनामाको लागि गुप्त निर्देशन ।

३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन आफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साँठगाँठ ।

४. वागमति प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र नग्न गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टीविरोधी व्यक्तिलाई मतदान ।

५. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, किर्ते र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चौथो वरियतामा उपस्थित ।
नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढालेर जनमतविपरित नेपाली काँग्रेसको गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न गरेका अपराधहरूको भत्सर्ना गरौ।