जनता टाइम्स

९ जेष्ठ २०७८, आईतवार १५:२२

कांग्रेसले पनि प्रचण्डपथ अंगिकार गरेर कुदेजस्तो छ : प्रधानमन्त्री ओली


काठमाडौं, ९ जेठ

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रलाई हिंसामार्फत सत्ता कब्जा गर्न लागि परेको शक्ति भन्दै नेपाली कांग्रेस पनि त्यसको पछि लागेको बताउनुभएको छ । आइतबार बालुटावारमा प्रेस चौतारीआवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले कांग्रेस ‘प्रचण्डपथ’ मा हिँडेको समेत टिप्पणी गर्नुभएको छ।

‘अहिले त आफूलाई प्रजाततन्त्रवादी भन्ने पार्टी पनि प्रचण्डपथमा हिँडे जस्तो लाग्छ,’ उहाँले भन्नुभयो , ‘मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चार्य लागेको छ । नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्ड पथमा लाग्यो ।’ कांग्रेस नेतृ पुष्पा भुसालले ओलीले गराएको चुनावमा कांग्रेसले भाग नलिने बताएको भन्दै त्यसप्रति आक्रोस पोखे।

ओलीले भन्न्भयो, ‘मलाई ताजुब के लाग्यो भने, मैले हिजो पुष्पा भुसालले बोलेको संचार माध्यममा हेरेँ, ‘केपी ओलीले गरेको चुनावमा भाग नलिने रे । कसले गराएको चुनावमा भाग लिने ? यो कुन प्रजातन्त्रको परिभाषाभित्र पर्छ ?’ ओली माओवादी केन्द्र लोकतान्त्रिक प्राणालीविरुद्ध हिंसामा लागेको र त्यसमा सफल हुने नदेखेपछि चाल बदलेको बताउनुभयो।

‘उहाँहरू हिंसाको बाटोमा हिँड्नु भएको हो,’ उहाँले भन्नुभयो, ‘उहाँहरू लोकतान्त्रिक प्रणालीका विरुद्ध बलजफ्ती सत्ता कब्जा गर्ने र तानाशाही लाद्ने उद्देश्यले हिंसामा लाग्नु भयो । नसकिने भएपछि पैताला बदल्नु भयो । चाल बदल्नु भयो ।’