जनता टाइम्स

१० जेष्ठ २०७८, सोमबार १४:१९

गोकर्ण विष्टले छाडे माधवको साथ, हस्ताक्षर दिन अस्वीकार


काठमाडौं, जेठ १०

एमालेमाथि गद्दारी गरेको अभियोग लागेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नजिकका प्रभावशाली नेताको साथ गुमाउनेक्रम जारी रहेको छ । यहीक्रममा उहाँले आजबाट प्रभावशाली लोकप्रिय युवा नेता गोकर्ण विष्टको साथ गुमाउनुभएको हो । माधव नेपालसहितका २३ नेताले कांग्रेसका लागि हस्ताक्षर बुझाउँदा उहाँसहित गणेश पहाडी र पवित्रा निरौला खरेलले पनि अस्वीकार गर्नुभएको छ ।

योसँगै विघटित प्रतिनिधिसभामा माधव नेपाल पक्षमा भनिएका सांसद अब समानुपातिकसहित जम्मा २३ जनामा सीमित भएको छ । १२१ सांसद भएको एमालेमा तीन वर्षदेखि रोइकराइ गरेर गुटबन्दी गर्दा पनि माधवकुमार नेपालले २३ जना भन्दा बढीलाई संगठित गराउन नसकेको देखिएको छ ।

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्दै एमालेका २३ पूर्व सांसदसहितले हस्ताक्षर गरेर रिट तयार गरेका छन । रिट निवेदनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९,जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना पूर्व सांसदको हस्ताक्षर रहेको छ ।