जनता टाइम्स

१२ जेष्ठ २०७८, बुधबार १४:१५

दिगो शहरी विकासको लक्ष्य हासिल गर्न एसिया प्यासिफिक मेयर एकेडेमीको छलफल, नेपालबाट ब्याञ्जु


काठामाडौं, जेठ १२

एसिया प्यासिफिक मेयर एकेडेमीले दिगो शहरी विकासको लक्ष्य हासिल गर्नका लागि मेयरहरुसँग छलफल गरेको छ। मंगलबार भर्चुअल माध्यममार्फत गरिएको छलफलमा विश्वका अन्य देशहरुको दिगो शहरी विकासको लक्ष्यलाई नेपालमा कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषय समेटिएको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठले बताउनुभयो ।

उहाँले सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्नका लागि एसिया प्यासिफिक मेयर एकेडेमीले छलफल गरेको बताउनुभयो । छलफलमा स्थानीय जनताहरुको गरिवी निवारण, सामाजिक सहभागिता, पूर्वाधारमा पहुँचलगायत विषयमा कसरी लक्ष्य प्राप्त गर्नेबारे चर्चा भएको थियो ।

‘धुलिखेल नगरपालिकाले सहस्राब्दी लक्ष्य पूरा गर्नका लागि, हामीले गरेका काम र एसिया क्षेत्रमै कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ र यो क्रमशः स्थानीय सरकारलाई जनताको नजिक पुर्याउने र त्यसलाई पारदर्शी र जवाफदेयी बनाउने काम पनि हो’ उहाँले भन्नुभयो । त्यस्तै दिगो शहरी विकासको लक्ष्य पूरा गर्न स्थानीय सरकारले गरेको कामको मूल्याङ्कन अन्तर्राष्ट्रिय स्तरमा हुने गरेको उहाँको भनाइ छ।

उहाँले थप्नुभयो,‘धुलिखेल नगरपालिकाको शिक्षा स्तर कहाँ छ, स्वास्थ्यमा कहाँ छ, उद्योगमा कहाँ छ, जनताको जीवनस्तर, सहभागितामूलक साझेदारी, खानेपानीको पहुँच पुगे/नपुगेको अन्तर्राष्ट्रिय संस्थाले मूल्याङ्कन गरिरहेको छ।’ उहाँले लक्ष्य प्राप्तिको आधार बलियो भए/नभएको थाहा पाउन पनि भोलेन्टियरी लोकल रिभ्यू भन्ने प्रोसेसबाट चेक गर्ने गरिएको जानकारी दिनुभयो । यसका लागि दक्षिण एसियाबाट २ वटा नगरपालिका छनोट भएकोमा नेपालको धुलिखेल नगरपालिका परेको छ, भने अर्को बंगलादेशको एक नगरपालिका रहेको छ ।