काठमाडौं, जेठ १४ । सरकारले तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सामग्रीको ओसार पसारलाई लक्षित गरी उडान खुला गर्ने निर्णय लिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कतार, चीन र टर्कीका लागि उडान खुला गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । कति गतेदेखि उडान खोल्ने भन्नेबारे निर्णय गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । पर्यटन मन्त्रालयले जेठ १८ गतेदेखि उडान खुला गर्ने गृहकार्य अघि बढाएको छ ।
“कोभिडसँग सम्बन्धित अतिआवश्यक स्वास्थ्य सामग्री ल्याउनुपर्ने भएर हाल तीन देशका लागि उडान खुला गर्ने निर्णय भएको हो” मन्त्री ज्ञवालीले भन्नुभयो, “उडान हुने भएपछि त्यस देशका नागरिक स्वास्थ्य मापदण्ड पूरा गरेर ओहोर दोहोर गर्न सक्नेछन ।”
गत वैशाख १६ गतेदेखि कोभिडका कारण निषेधाज्ञा जारी भएपछि सरकारले बैशाख २० गतेदेखि आन्तरिक र २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । यसबीचमा पनि अतिआवश्यक स्वास्थ्य सामग्री ल्याउने काममा भने केही उडान भइरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्