काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सङ्कटमा पार्ने किसिमका गतिविधि भइरहेकाले यसमा आफ्नो तथा सरकारको ध्यानाकर्षण भएको भन्दै त्यस प्रबृत्तिबिरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको छ । दलीय शासन ब्यवस्थामा निर्दलीय चरित्र देखाउनु राम्रो नभएको भन्दै यसमा सबै दलको ध्यान जानुपर्ने प्रधानमन्त्रीको भनाई छ ।
कहिले तटस्थता त कहिले निर्दलीय प्रवृत्ति देखाउने कार्य लोकतन्त्रका लागि राम्रो होइन र यो सुहाउने विषय पनि रहन्न, भर्चुअल माध्यमबाट आज दमक बहुमुखी क्याम्पसको १० करोडको लागतमा बन्न लागेको व्यावसायिक प्रयोजनसहितको शैक्षिक भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड १९ को सङ्क्रमण रोकथामसँगै विकास निर्माणको महाअभियान नरोकियोस् भनेर आफूहरु लागिपरेको बताउनु भयो । हामी हरेक नागिरकको सुरक्षित र सुनिश्चित जीवनको प्रवन्ध गर्न लागि परेका र्छौ, प्रधानमन्त्री ओलीले भन्नुभयो । तत्काल विकास निर्माण लगायतका कामहरु रोक्न विभिन्न कोणबाट आवाज उठ्दै आएको जनाउँदै यस्तो कार्य देश र जनताको हितमा नहुने उहाँले जनाउनुभयो ।
सरकारले लोकप्रिय काम गर्यो भनेर विरोध गर्ने कार्य भइरहेको छ तर यो सरकारले लोकप्रियताका लागि नभएर देश र जनताको आवश्यकता बुझेर सोही अनुसारको काम गरिरहेको बताउनुभयो । लोकप्रियताका लागि अब थप काम गर्नुपर्दैन अहिलेसम्म गरेको कामले नै सरकार लोकप्रिय छ, उहाँले भन्नुभयो । कोभिड विरुद्धको साझा लडाँ लड्दै सुरक्षित तवरले विकास निर्माणका कामहरु पनि अघि बढोस भनेर सरकारले यसै अनुसारको प्रबन्ध मिलाउँदै गएको छ, प्रधानमन्त्री ओलीले बताउनु भयो । दमक सहित अहिले देशभर विकास निर्माणको लहर चलिरहेको भन्दै यो काम नरोकिने उहाँको भनाइ थियो ।













प्रतिक्रिया दिनुहोस्