जनता टाइम्स

१४ जेष्ठ २०७८, शुक्रबार १६:५२

ताजा जनादेशमा जानु प्रतिगमन होइन : प्रधानमन्त्री


काठमाडौं, जेठ १४

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन सफल पार्नका लागि सबै दललाई सरकारमा सहभागी हुन आह्वान गर्नुभएको छ । उहाँले ताजा जनादेशमा जानु प्रतिगमन नहुने भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले गरेको मध्यावधि चुनावको घोषणा वैधानिक रहेको जिकिर गर्नुभयो ।

‘मैले पनि विश्वासको मत प्राप्त गर्न नसक्ने र अर्को पनि विकल्प दिन नसकेपछि संवधानिक वाध्यताअनुसार संसद विघटन गर्नु परेको हो,’ उहाँले भन्नुभयो, ‘देशलाई चाँडोभन्दा चाँडो राजनीतिक निकास दिनका लागि चुनावमा जानुको विकल्प थिएन ।’ आफ्नो लागि सत्तामा रहनु र नरहनु प्रमुख विषय नभएको पनि बताउनुभयो । उहाँले थप्नुभयो,‘हाम्रो लागि सत्ता साधन मात्र हो साध्य होइन । हाम्रो लागि साध्य भनेको राष्ट्रिय अस्मिता र स्वाभिमानको संरक्षण हो ।’

उहाँले आज भइरहेको अराजकता तथा असंसदीय र अलोकतान्त्रिक चरित्रले लोकतान्त्रिक पद्दतिप्रति नै जनतामा वितृष्ण उत्पन्न गर्ने चिन्ता बढेको पनि बताउनुभयो । ‘कहिले पार्टीका उम्मेदवार हराउन विपक्षीसँग साँठगाठ गर्ने, कहिले संसदमा अनपस्थित भएर आफ्नै पार्टीको सरकारलाई अप्ठेरोमा पार्ने त कहिले प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने त कहिले विपक्षी नेतालाई प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने खालका विकृति देखा परेका छन्’, उहाँले थप्नुभयो, ‘२०४८ सालपछि देखिएका संसदीय विकृति अहिले फेरि दोहोरिन थालेका छन् ।’ त्यस्तै उहाँले आफू सबैखाले अपमान र पीडा व्यहोरेर पनि पार्टी एकताका लागि प्रयत्नशील रहेको सुनाउनुभयो ।