जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार ०९:१७

आज ४ बजे बजेट सार्वजनिक हुँदै, अध्यादेश पारित गर्न मन्त्रिपरिषद बैठक बोलाइयो


काठमाडौं जेठ १५। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीका अनुसार प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे बजेट सार्वजनिक हुने छ । बजेटबारे निर्णय गर्न आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने यसअघि नै जानकारी दिइसक्नु भएको छ। यस्तै आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने प्रधानमन्त्रीले बताउनु भएको छ ।