जनता टाइम्स

१६ जेष्ठ २०७८, आईतवार १४:१८

लैङ्गिक हिंसाको विरोध गर्दै सबैलाई कारवाहीको दायरामा ल्याउन अनेमसंघको माग


काठमाडौँ, जेठ १६

अखिल नेपाल महिला सङ्घले राष्ट्रप्रमुखलगायत देशका महिलामाथि भइरहेको लैङ्गिक हिंसाको विरोध गरेको छ । त्यस्ता घटनामा संलग्न सबैलाई कार्वाहीको दायरामा ल्याउन माग गर्दै गृहमन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएको छ । संघले शनिबार भर्चुअल कार्यक्रम गर्दै महामारीको समयमा राष्ट्रप्रमुखलगायत अन्य महिला/किशोरीमाथि देशभर भइरहेको लैङ्गिक हिंसाको विरोध गरेको हो ।

कार्यक्रममा सङ्घका सह–संयोजक एवं पूर्व मन्त्री थममाया थापाले राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले संघको नेतृत्व गरेको समयमा राजनीतिमा विविध अग्रगामी पहल कदम उठाएको स्मरण गर्नुभयो । पछिल्लो पटक नेपाली महिलाको राजनीतिमा बढेको सहमागीता उहाँको दृष्टिकोणको लाभ हो भन्नुभयो ।

संघका तत्कालिन अध्यक्ष भण्डारीले महिलाको ३३ प्रतिशत सहभागिताको माग, आमाको नाममा नागरिकता पाउनुपर्ने, जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउनेलगायतका माग हाल कार्यान्वयनमा रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले उक्त सबै माग कार्यान्वयन भएर अग्रगामी दृष्टिकोण सावित भएको छ, महामारीबाट देशबासीलाई बचाउन आफ्नो समकक्षीसँग निरन्तर संवाद, पत्रको माध्यमबाट खोप ल्याउने काम चलिरहेकोबेला उहाँको चरित्र हत्या गर्ने पक्ष सक्रिय भइरहने अवस्थामा संघलगायत सबै महिला अधिकारकर्मीका लागि मान्य नहुने बताउनुभयो ।

संघको इन्चार्ज गोमा देवकोटाले राष्ट्रपतिलगायत महिला/किशोरीलाई लक्षित गरी गरिने हिंसाको डटेर प्रतिरोध गरिने बताउनुभयो । कार्यक्रममा सङ्घका सचिव सुजिता शाक्यले गृहमन्त्रालयमा बुझाइएको ज्ञापनपत्र बाचन गर्नुभएको थियो । सो ज्ञापनपत्रको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महिला आयोगलाई बोधार्थ बुझाइएको छ ।ज्ञापनपत्रमा राष्ट्रपतिलगायत महिलामाथि भइरहेको हिंसा विरुद्ध एकजुट भएर आवाज बुलन्द गरिने र दोषीलाई कारवाहीको माग गरिएको छ ।

सो अवसरमा सङ्घका प्रचार–प्रसार विभाग प्रमुख शर्मिला कार्कीले राष्ट्रपतिको पदिय मर्यादालाई अपमान गर्ने काम अहिले चौतर्फी रुपमा भइरहेको छ, उहाँले महामारीबाट बचाउने विदेशका आफ्ना समकक्षी समक्ष गरेको पहललाई समेत ओझेल पार्ने गरी व्यक्तिगत आरोप लगाउँदै खुसी मनाइरहने तत्व महिला विरोध हुन भन्नुभयो । राष्ट्रप्रमुखमाथि यसअघि पनि पटक–पटक प्रहार र देशभर अन्य महिला/किशोरीमाथि बलात्कार, ज्यानै मार्नेसम्मको घटना भइरहेको प्रति संघले कडा भत्र्सना गरेको छ ।