जनता टाइम्स

१८ जेष्ठ २०७८, मंगलबार १८:०७

उपेन्द्र यादवलाई ठाकुर पक्षद्वारा पार्टीबाट निष्कासन


काठमाडौं, जेठ १८

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ । आज बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले बताउनुभयो ।

यसअघि आजै जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष यादवले निर्वाचन आयोगमा पठाएलगत्तै केही घण्टामै ठाकुर पक्षले पनि यादवलाई निष्कासित गरेको हो। ठाकुरले यादवको नाम हटाउन आयोगलाई काउण्टर पत्र पठाउनुभएको छ ।

ठाकुरले निर्वाचन आयोगलाई पठाएको पत्रमा यादवलाई पार्टीको विधानको दफा ५० को १ बमोजिम अनुशासन कारवाही भई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । पत्रमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ को १, २ र ३ बमोजिम दलको दर्ता किताबबाट यादवको नाम हटाइ अद्यावधिक गर्न अनुरोध गरिएको छ ।
पत्रमा यादवले पार्टीको विधान, नीति र निर्णय विपरीत कार्य गरेको र पटक-पटक स्पष्टीकरण सोध्दा पनि कुनै जवाफ नदिएको उल्लेख गरिएको छ ।