जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १५:०९

औलोका बिरामी घट्दै


चितवन, जेठ २८

जिल्लामा औलो रोगका बिरामीको सङ्ख्या घट्दै गएको छ । पछिल्लो तीन वर्षमा क्रमशः सङ्ख्या घट्दै गएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको माघ महीनासम्ममा ९ जनामा सङ्क्रमण देखिएको छ । चार हजार २ सय ८६ को परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । सङ्क्रमितमध्ये दुई जना स्थानीय रहेका छन् भने अन्य सात जना बाहिरी जिल्लाबाट आएको कार्यालयले जनाएको छ ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा शङ्कास्पद चार हजार २१ को रगतको नमूना परीक्षण गर्दा १५ जनामा औलो रोग देखिएको थियो । तीमध्ये एक स्थानीय र १४ जना बाहिरबाट आएका थिए । यस्तै आव २०७३/०७४ मा जिल्लामा १६ जनामा औलो देखिएको थियो । त्यस वर्ष यहाँका दुई हजार २५० को रगतको नमूना परीक्षण गरिएको थियो ।

केसीका अनुसार कुनै एक क्षेत्रको व्यक्तिमा औलो देखिएको अवस्थामा त्यस वरिपरिका ५० घरमा सतर्कता अपनाइने गरेको छ । नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन गर्ने गरी कार्यक्रम चलिरहेको उल्लेख गर्दै केसीले सन् २०२२ सम्म नेपालमा औलोको स्थानीय सङ्क्रमणलाई शून्यमा झार्ने योजना रहेको छ । चितवनसहित देशभरि स्थानीयभन्दा आयातित सङ्क्रमित बढी देखिएको केसीले बताउनुभयो ।